बेल्जियममा पुनः लकडाउन घोषणा

0
Shares

लन्डन, (एजेन्सी)
युरोपभरिकै तुलनामा आफूकहाँ कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा बढी देखिएपछि बेल्जियमले पुनः राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ। सोमबारदेखि आगामी डिसेम्बरको मध्यसम्मका लागि अत्यावश्यकबाहेक अन्य वैयक्तिक सेवा प्रदायक व्यवसायहरू बन्द हुने जनाएको हो। साथै, कुनै पनि सार्वजनिक स्थानमा चार जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाइने भएको छ।
सुपर मार्केटले एकपटकमा एकजना गरी अत्यावश्यक दैनिक उपभोग्य र घरायसी सामान मात्र बिक्री गर्न पाउनेछन्। शरद्कालीन विद्यालय बिदाको म्याद पनि आगामी नोभेम्बर १५ सम्मका लागि लम्ब्याइएको छ।
साथै, पहिलेदेखि नै लागू हुँदै आएको रात्रिकालीन कफ्र्यु र बार तथा रेस्टुरेन्ट बन्द राख्ने नियम कायमै रहने सरकारी प्रवक्ताले शनिबार बताएका छन्। पहिलो चरणको कोभिड–१९ को चपेटामा सबैभन्दा बढी ज्यान गुमाउनेमा अन्य मुलुकजस्तै बेल्जियम पनि एक रहेको छ। शुक्रबार बेल्जियमका प्रधानमन्त्री अलेकजान्दर डि क्रुले मुलुक स्वास्थ्य संकटकालको स्थितिमा पुगेको जानकारी दिएका थिए।
बेल्जियमका अस्पतालका आपत्कालीन उपचार कक्षका २ हजार श्ययामध्ये आधाभन्दा बढी कोरोनाका बिरामीले भरिएका छन्। युरोपमा चेक रिपब्लिकपछि कोरोना भाइरसका कारण बढी ज्यान गएको मुलुक बेल्जियम हो। त्यहाँ ११ हजार ३ सय बढीको मृत्यु भएको छ। युरोपभरि हाल १ करोड १५ लाख व्यक्ति संक्रमित रहेका छन्।
यसैबीच इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोहन्सन पनि एक महिनासम्म राष्ट्रव्यापी लकडाउन लागू गर्ने योजनामा रहेका छन्। क्रिसमसको अघि परिस्थिति सामान्य बनाउने उद्देश्यले यो योजना कार्यान्वयन गरिन लागेको हो। सोमबार सबैलाई घरैमा बस्ने नयाँ आदेश जारी हुन सक्ने अनुमान गरिएको छ। तर, यस नयाँ लकडाउनमा स्कुल, कलेज र युनिभर्सिटी भने चालु रहने बताइएको छ।