मन्त्री श्रेष्ठलाई संस्कृतिविद् सत्यमोहन जोशीको आशीर्वाद


सुनील महर्जन, ललितपुर
उमेरले १ सय १ नाघेका राष्ट्रिय धरोहर सत्यमोहन जोशीको आशीर्वाद लिन नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शुक्रबार दिउँसो ललितपुरको बखुम्बहालस्थित निवासमा पुग्नुभयो । त्यसबेला निवासकै बगैंचामा एक साहित्यकारको प्रकाशोन्मुख कविता संग्रहका लागि भूमिका लेखनमा रहेका संस्कृतिविद्लाई मन्त्री श्रेष्ठले अभिवादन गर्नुभयो ।

मन्त्री श्रेष्ठले शताब्दी पुरुषलाई अभिवादन गर्दै भन्नुभयो– ‘मन्त्री भएपछि आशीर्वाद लिन खबरै नगरी सरासर आएको हँु । कार्यकाल सफलताका लागि तपाईंको आशीर्वाद जरुरी छ ।’

‘तपाईंलाई भेट्न जाँदै छु भनेर मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनेर आएको हँु। प्रधानमन्त्रीले पनि मेरो तर्फबाट सन्चोबिसन्चो सोधिदिनु भन्नुभएको छ । साथमा सरकारका तर्फबाट तपाईंलाई गर्नुपर्ने केही छ भनेर सोध्न अराउनुभएको छ।’ –श्रेष्ठले जोशीलाई सुनाउनुभयो ।

प्रत्युत्तरमा जोशीले भन्नुभयो– ‘भगवान्को कृपाले मेरो स्थिति सबै राम्रै छ । हाललाई गर्नुपर्ने केही छैन । यति सोध्नुभयो, धन्यवाद भनेर प्रधानमन्त्री ओलीलाई भनिदिनु होला ।’

‘तपाईं त भगवान्तुल्य मानिस । तपाईंको आशीर्वाद मेरो जीवनमा फापेको छ । सधैं मेरो भलो चिताउनु भो । तपाईंप्रति कृतज्ञ छु।’ ’श्रेष्ठ विनीत हुनुहुन्थ्यो ।
जोशीले पनि विनीत बनेर जबाफ दिनुभयो– ‘देश र जनताका लागि अझै राम्रो गर्न सक्नुहोस् । यही शुभकामना छ ।’

पदभार ग्रहण गरेपछि बिहीबार कीर्तिपुरस्थित चम्पादेवीमा माल्यार्पण गर्न गएका मन्त्री श्रेष्ठले जानकारी गराउनुुभयो– ‘आज तपाईंकहाँ आएको छु । भोलि चार जना शहीद र जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्न जानेछु ।’

जोशीले थप्नुभयो– ‘२०६१ सालतिर तत्कालीन स्थानीय विकास राज्य मन्त्री हुँदा नेपाल भाषाको विकास, संस्कृति, सम्पदाको उत्थानसँगै धेरै राम्रो काम गर्नुभएको छ । यहाँका जनतालाई आपत्विपद्मा सहयोग गर्ने, सार्वजनिक हितका कामका लागि राज्यप्रशासनसँग समन्वय गर्ने काम गरिरहनुभएको छ । समाज र जनताको भलोका लागि अझै धेरै काम गर्न सक्नुहोस् ।’

श्रेष्ठ राज्यमन्त्री हँुदा जोशी नेपाल भाषा एकेडेमीका चान्सलर हुनुहुन्थ्यो । त्यतिबेला जोशीकै आग्रहमा श्रेष्ठले कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीको भवन निर्माण, नेपाल भाषा केन्द्रीय विभागको भवनको तल्ला थप्नेलगायत विभिन्न काममा सहयोग गर्नुभएको थियो ।

त्यसपछि मन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा केही समस्या छ कि, कुनै औषधी सेवन गर्नुपरेको छ कि छैन भनेर सोध्नुभयो । जवाफमा जोशीले अहिलेसम्म औषधी सेवन गर्नुनपरेको बताउनुभयो । नभन्दै मन्त्री श्रेष्ठले जोशीलाई देखाउँदै १ सय १ वर्ष पुगिसक्दा पनि यस्तो तगडा, विलक्षण स्मरण शक्ति र ज्ञानको भण्डार भनेर आफ्ना गार्डलाई सुनाउनुभयो ।

आफ्ना श्रीमती एवं संघीय सांसद् बिना श्रेष्ठलाई पनि लिएर आउनुभएका मन्त्री श्रेष्ठले ‘केही समस्या परेमा छोराजस्तै सम्झिएर सम्पर्क गर्नू’ भनेर जोशीसमक्ष राख्दै कुराकानीको बिट मारेर छुट्टिने तरखर गर्नुभयो । भेटघाटको अन्तिमतिर जोशीसँगै एउटा तस्वीर खिचाउँदै मन्त्री श्रेष्ठ बिदा हुनुभयो ।

जोशीलाई भेट्न मन्त्री श्रेष्ठ आउनुहुँदा ललितपुर क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जन, नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण व्यकार र जिल्ला नेता सरोजसिंह पनि आउनुभएको थियो ।