राष्ट्र संघका कर्मचारीलाई निशुल्क खोप दिन पुटिनको प्रस्ताव


न्युयोर्क (एजेन्सी)

संयुक्त राष्ट्रको ७५ औं महासभालाई संबोधनमा रुसका राष्ट्र्रपति भ्लादिमिर पुटिनले रुसको कोरोना भाइरस खोप परीक्षणमा विश्वसनिय, सुरक्षित र प्रभावकारी प्रमाणित भएको बताए । यो खोप विश्वका सबै देशलाई वितरण गर्न तयार रहेको पनि उनले बताए । संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई यो खोपको डोज निशुल्क दिने प्रस्ताव पनि उनले राखे ।

सम्मेलनमा पुटिनले भने, हाम्रा डाक्टर र वैज्ञानिकहरुले औद्योगिक तथा क्लिनिकल अनुभवका आधारमा कोरोना भाइरस तत्काल पत्ता लगाउने र उनीहरुको उपचार गर्न परीक्षण प्रणाली तथा औषधीको सृंखला नै विकसित गरेको छ ।

विश्वकै पहिलो कोरोना भाइरस खोप स्पुतनिक भी पनि बनाएको छ ।रुस सबैका लागि खुला र सहयोगका लागि तयार रहेको पुटिनले बताए । यसका लागि एन्टी कोरोना भाइरस खोप विकासमा सहयोगका लागि इच्छुक देशहरुसँग एक अनलाइन उच्च स्तरिय सम्मेलन आयोजित गर्ने प्रस्ताव आफुले गरेको उनले बताए ।

कोरोना भाइरसले संयुक्त राष्ट्रका कर्मचारी, यसको मुख्यालय तथा क्षेत्रिय संरचनालाई नराम्रोसंग प्रभावित पारेको छ । रुस सबै आवश्यक तथा योग्य सहायताका माध्यमबाट संयुक्त राष्ट्रलाई मद्दत गर्न तयार रहेको पुटिनले बताए । उनले भने , हामी संयुक्त राष्ट्र र त्यसका कार्यालयका कर्मचारीहरुलाई स्वेच्छिक खोप दिन आफनो खोप निशुल्क दिन प्रस्ताव गर्दछु ।