विश्वकै सबैभन्दा जेष्ठ जीवित जापानमा


टोक्यो,(एजेन्सी)
गिनिज बुक अफ रिकर्डसले जापानी महिला काने तानाकालाई विश्वकै सबैभन्दा जेष्ठ जीवित व्यक्तिको रुपमा पहिचान गरेको छ । हालै मात्र ति महिलाले जापानकै पनि हालसम्मकै सबैभन्दा वृद्ध व्यक्तिको नयाँ कीर्तिमान कायम गरेकी छन् ।

तानाकाको उमेर गत शनिवार १ सय १७ वर्ष र २ सय ६१ दिन पुगेको हो । यस अघिको विशव कीर्तिमान पनि एक जापानी महिलाले नै कायम राखेकी थिइन् । सन् २०१८ को अप्रिलमा नावी ताजिमाको १ सय १७ वर्ष २ सय ६० दिनको उमेरमा निधन भएको थियो ।

काने तानाका जापानको दक्षिण पश्चिमी शहर फुकुओकाको एउटा नर्सिंग होममा बस्दै आएकी छन् । सोडा र चकलेट भनेपछि हुरुक्कै हुने उनको जन्म पुर्व वाजिरो गाउँमा सन् १९०३ को २ जनवरीमा भएको हो । अहिले वाजिरो फुकुओका शहर भित्रै पर्दछ । उनले आफ्नो यो ऐतिहासिक उपलब्धि एउटा कोक र आफ्नै अनुहार छापिएको टि–सर्ट लगाएर मनाएकी छन् ।

उनलाई यि चिज उनकै परिवारका सदस्यहरुले उपहार स्वरुप दिएका हुन् । तानाकाका ६० वर्षिय नाती एइजि तानाका क्योदो समाचार निकायलाई भन्छन् , ‘ मेरी बज्यैको स्वास्थ राम्रो छ । र उनले हरेक दिन रमाइलो गरिरहेकी छन् । केरोना भाइरसको महामारीको कारण उनीसंग परिवारलाई भेट्न दिइएको छैन । परिवारको नाताले उनको नयाँ विश्व किर्तिमानबाट हामी सबै गौरान्वित छौं । ’

फुकुओका शहरले उनको केयर होमका कर्मचारीहरु मार्फत पनि तानाकालाई विभिन्न उपहार र गवर्नर हिरोसी ओगावाको बधाई तथा शुभकामना पत्र पनि पठाइएका छन् । फुकुओकाका मेयर सोइचिरो ताकासिमाले एक औपचारिक विज्ञप्ति निकाल्दै मेइजि, ताइसो , सोवा , हेइसि र रेइवा युगको अनुभव बटुलेकी तानाका प्रति सम्मान व्यक्त गर्दै उनको सुस्वास्थको पनि गरेका छन् ।