फ्रान्स र बेलायतमा कोरोना महामारीको दोस्रो लहर


पेरिस, (एजेन्सी)

युरोपमा फेरि एकपटक कोरोना भाइरस संक्रमण फैलिने क्रममा तीव्रता आएको छ। बेलायतपछि अब फ्रान्समा सेकेन्ड वेबमा संक्रमण फैलिरहेको छ। शनिबार देशमा कोरोनाबाट १३ हजार ५ सय बढी संक्रमित भएको पुष्टि भएको थियो। यसमा फ्रान्सका अर्थव्यवस्था मन्त्री ब्रुनो ली मेरी पनि परेका छन्। उनले ट्वीट गरी आफू कोरोना पोजिटिभ भएको जानकारी दिएका हुन्।

फ्रान्समा लगातार दोस्रो दिन पनि कोरोना संक्रमण १३ हजारभन्दा बढी देखिएको हो। दक्षिण फ्रान्सको एसोन क्षेत्रका अस्पतालमा पर्याप्त संख्यामा नयाँ संक्रमित भर्ना भइरहेको स्वास्थ्य एजेन्सीले जनाएको छ। रोकथामका लागि स्वास्थ्य अधिकारीले लगातार उच्चस्तरीय बैठक गरिरहेका छन्।

संक्रमणको यो दोस्रो लहरले महामारीलाई लिएर फ्रान्स चिन्तित हुन जरुरी भइसकेको स्पष्ट संकेत दिएको स्वास्थ्यकर्मीले बताएका छन्। संक्रमणको हटस्पटका रूपमा १ हजार स्थानको पहिचान गरिसकेको छ। फ्रान्समा महामारीले हालसम्म ३१ हजार २ सय ७४ को मृत्यु भइसकेको छ।

फ्रान्समा हालसम्म ४ लाख ४२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। र, यस महामारीबाट ९१ हजार ५ सय ७४ ठीक पनि भइसकेका छन्। विगत ४ दिनदेखि फ्रान्समा दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन्। सरकारले कैयौं इलाकामा लकडाउनको नियमलाई कडा पारेको छ। सबैजसो ठाउँमा नागरिकलाई जम्मा हुन पनि रोक लगाइएको छ।

दैनिक ६ हजार नयाँ संक्रमित
बेलायतमा कोभिड–१९ भाइरस संक्रमण पुनः बढ्न थालेपछि लकडाउनलाई कडा पारिएको छ। कोरोना संक्रमणको संख्या बढेपछि सरकारले इंग्ल्यान्डको उत्तरी भागमा स्थानीयस्तरमा लकडाउनको प्रतिबन्धलाई थप कडा पारेको छ। नर्थवेस्ट, मिडल्यान्डस र वेस्ट योर्कसायर क्षेत्रमा एक अर्को परिवारसँग भेटघाट गर्न, बार तथा रेस्टुरेन्टमा जान पनि नपाइने भएको छ। यो नयाँ नियम मंगलबारबाट लागू हुनेछ।

बेलायतका स्वास्थ्य मन्त्री मेट ह्यानककले ल्यान्कसायर, मेरसेसाइड, वेस्ट योर्कसायर, वारिंगटन, हाल्टन र बल्चरहेम्पटनमा संक्रमण बढेको जानकारी दिएका छन्। अब सार्वजनिकरूपमा ६ जना मात्र जम्मा हुन पाइने भएको छ। यो नियम उल्लंघन गरेमा सय पाउन्ड जरिबाना तिर्नुपर्नेछ। पटक–पटक उल्लंघन गरेमा ३ हजार २ सय पाउन्डसम्म तिराउन सक्ने प्रावधान रहेको बेलायती सरकारले उल्लेख गरेको छ।