अन्ततः अमेरिकामा टिकटकले पायो निरन्तरता


वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको स्वामित्वमा रहेको भिडियो शेयरिङ एप टिकटकलाई अमेरिकामा सञ्चालन गर्न दिने सम्झौताप्रति आफ्नो समर्थन रहेको बताएका छन्।

ट्रम्पले टिकटक र अमेरिकी प्राविधिक कम्पनी ओराकल एवं बाल्मार्टबीचको साझेदारीलाई आफ्नो तर्फबाट पूर्ण समर्थन र शुभकामना रहेको पत्रकारलाई बताएका हुन्।

यसअघि ट्रम्प सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटक एपलाई अमेरिकामा प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएको थियो।

अमेरिकी सुरक्षा अधिकारीले टिकटकका मालिक बाइट डान्सले संकलन गर्ने प्रयोगकर्ताको गोप्य तथ्यांक तथा सूचना विवरण चीन सरकारलाई सुम्पन सक्ने आशंका र चिन्ता व्यक्त गर्दै आएका थिए।

तर, बाइट डान्सले भने आफू कसैबाट नियन्त्रित रहेको भन्ने आरोप अस्वीकार गर्दै आफूले डाटा चीनको सत्तारूढ कम्युनिस्ट सरकारलाई दिने नगरेको बताउँदै आएका छन्।

ट्रम्पले नर्थ क्यारोलिनमा हुने एउटा चुनावी ¥यालीमा भाग लिन ह्वाइट हाउसबाट जानुअघि पत्रकारलाई भने– ‘यस सम्झौताले अनुमानित १० करोड अमेरिकी जनताले प्रयोग गर्ने यस एपको सुरक्षाको ग्यारेन्टी शतप्रतिशत हुनेछ।

म औपचारिक रूपमा यो सम्झौताको अनुमोदन गर्दछु।’ यसैबीच टिकटककी अन्तरिम कार्यकारिणी प्रमुख भ्यानेस्सा पाप्पासले शनिबार नै एउटा भिडियो पोस्ट गर्दै टिकटक एपले अमेरिकी भूमिमा निरन्तरता पाउने पुष्टि गरेकी छन्।