ट्रम्पको नाममा विष भरिएको पार्सल


वासिङ्टन, (एजेन्सी)

अमेरिकामा राष्ट्रपति चुनावको चहलपहल तात्दै गइरहेको बेला त्यहाँ प्रहरीले विष भरिएको एक पार्सल हात पारेको छ। उक्त पार्सल राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको थियो। प्याकेजमा रिसिन नामको विष रहेको आशंका गरिएको छ र त्यसको पुष्टिका लागि दुई पटक जाँच गरिसकिएको छ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पठाइएका सबै चिठी पार्सलको गहन जाँचपछि मात्र सम्बन्धित ठाउँ वा व्यक्तिलाई दिइने गरिन्छ। जाँचका क्रममा कुनै आशंका रहेन भने मात्र त्यसलाई ह्वाइट हाउसमा पठाइन्छ।

उक्त प्याकेज सम्भवतः क्यानडाबाट पठाइएको अमेरिकाको कानुनसम्बन्धी एजेन्सीका एक अधिकारीले बताएका छन्। द फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र गुप्तचर सेवाले उक्त घटनाको जाँच गरिरहेको छ। एफबीआईका अधिकारीले न्युज च्यानल सीएनएनलाई भने– ‘एफबीआई र हाम्रो सिक्रेट सर्बिस र अमेरिकी पोस्टल इन्स्पेक्न सर्बिसले संयुक्तरूपमा जाँच गरिरहेको छ। हाललाई कुनै सर्वसाधारणका लागि कुनै प्रकारको खतराको आशंका छैन।’

रिसिन अत्यन्तै घातक तŒव हो जसलाई कास्टर बिन्सबाट निकालिन्छ। यसको प्रयोग आतंकवादी हमलामा भइसकेको छ। यसलाई पाउडर, मिस्ट, पेलेट वा एसिडका रूपमा उपयोग गर्न सकिन्छ। रिसिन विष खानाले व्यक्तिलाई बान्ता हुन्छ, पेट र आन्द्राभित्र रगत बहन थाल्छ, कलेजो तथा किड्नी फेल हुन्छ र अन्त्यमा मान्छेको पूरै रक्तसञ्चार प्रणाली अवरुद्ध भई ज्यानै जान्छ।