निशर्त रिहाईको लागि प्रदर्शन

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

प्रहरी हिरासतमा राखिएका सांस्कृतिक अधिकारकर्मी सहित स्थानीयबासीलाई निशर्त रिहाई गर्नुपर्ने माग राखेर स्थानीय युवाहरुले कुमारीपाटीमा धर्ना दिएका छन् ।

हिरासतमा राखिएकाहरुलाई दबाब दिन जिल्ला प्रशासन कार्यालय ललितपुर घराउ गर्ने सामाजिक सञ्जाल मार्फत आएपछि विभिन्न स्थानबाट युवाहरु मानभवन कार्यालयमा जान खोज्दा प्रहरीले तिनिहरुलाई कुमारीपाटीमै रोकेको थियो । त्यसपछि कार्यालय छिर्ने सबै नाकाहरुमा आवागमन निषेध गरिएको थियो ।

त्यसपछि आक्रोशित युवावर्गहरुले कुमारीपाटीमै धर्ना दिएको स्थानीयबासी विश्वन्तर शाक्यले बताउनुभयो । ‘ स्थानीय तह र स्थानीय प्रशासनका एकाध व्यक्तिको अर्कमण्य, विवेकहीनता र अहं तुष्टिले गर्दा रथयात्रालाई अनिर्णयको बन्दी बनाइएको हो । यो सम्पूर्ण घटनाको दोषी उनीहरु नै हुन् ।’ शाक्यले भन्नुभयो ।

यसैबीच रातो मच्छिन्द्रनाथको रथयात्रा विषयमा सम्बन्धित निकायले समयै निर्णय गर्न नसकेको झडपको अवस्था उत्पन्न भएको भन्दै ललितपुर महानगरपालिका – १६ का विभिन्न टोलका युवाहरु सोमबार पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेको थियो । सांस्कृतिक अधिकारकर्मी निशर्त रिहाई गर । सांस्कृतिक संवेदनशीलतालाई सम्मान गर भन्ने लेखिएको प्लेकार्ड बोकेर एक घण्टा प्रदर्शन गरिएको थियो । यसैबीच प्रहरी सात जनालाई थुनामुक्त गरेको छ भने हिरासतमा ११ जना रहेका छन् ।