कला संस्कृतिको सम्मान र संरक्षण गर्न ललितपुर प्रमुखको आग्रह


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले निषेधाज्ञा कायमै रहेका बेला जबरजस्तीरातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा भएको घटनाले आफू अत्यन्तै दुखी भएको बताउनु भएको छ ।

प्रमुख महर्जनद्धारा शुक्रवार जारी विज्ञप्तिमा करीब ६० टनभन्दा बढी तौल र ५० फिट भन्दा अग्लो मछिन्द्रनाथको रथलाई विना जानकारी र योजना तान्न खोज्नु अशोभनीय कार्य भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,— ‘स्थानीय सरकार र प्रशासनलाई जानकारी नै नदिई अशोभनीय ढंगबाट रथ तान्ने प्रयास गरिनुले संस्कृति र सम्पदाप्रेमी सबैको मन नराम्रोसँग दुखाएको मेरो ठम्याई छ ।’

विज्ञप्तिमा उल्लेख भएअनुसार बिहीबार उहाँ आफ्नो पीसिआर टेस्टको रिपोर्टको प्रतिक्षा गर्दै होम आइसोलेसनमा हुनुहुन्थ्यो । अपरान्हपछि रिपोर्ट नेगेटिभ भएको खबरप्राप्त भएसँगै उहाँ रातो मछिन्द्रनाथको रथका विषयमा आयोजना गरिएको छलफलमा सहभागी हुनुभएको थियो ।

धर्म, संस्कृति, जात्रा, परम्परा जोगाउने नाममा भएको यस्तो घटनाले मर्माहत भएको उल्लेख गर्दै भनिएको छ , ‘श्री रातो मछिन्द्रनाथको रथ बनाउने र तान्ने प्रक्रियामा ललितपुर महानगरपालिकाको भूमिका नहुने कुरा यहाँहरुलाई अवगत गराउँछु ।’ विज्ञप्तिमा ललितपुर महानगरपालिकाले कोभिडका बेला स्वास्थ्य सतर्कता अपनाउन भक्तजनहरुको व्यवस्थापन र जात्राको लागि ‘लजिस्टिक सपोर्ट’ मात्रै गर्न खोजेको जनाइएको छ ।

विज्ञप्तिमा ललितपुर महानगरपालिका कला, धर्मसंस्कृति, सम्पदा, जात्रा लगायतका अन्य परम्पराले सम्पन्न सहर भएको उल्लेख गर्दै हाम्रा यी अमूल्य निधिको संरक्षण तथा सम्मान गर्न महानगरवासी र सम्पूर्ण संस्कृतिप्रेमी जनसमुदायलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।