बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु, रुपन्देहीमा मात्रै मृत्यु हुनेको संख्या १५ पुग्यो


बुटवल । रुपन्देहीकाे बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको गरी थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले बताए ।

योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।