बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

0
Shares

बुटवल ।

बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय पुरुष र रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–७ की ६४ वर्षीया महिला छन् । पुरुषको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार बिहान ९ बजे र महिलाको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा शुक्रबार बिहान ८ : ४५ बजे मृत्यु भएको ती अस्पतालल जनाएका छन् ।

कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुष सुगर र प्रेसरका बिरामी समेत रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ‘श्वासप्रश्वासमा समस्या आएपछि उनि भदौ ४ गते अस्पतालको आइसीयुमा भर्ना भएका थिए,’ उनले भने ‘उनी ९ दिनदेखि भेन्टिलेटरमा थिए ।’ अस्पतालमा जटिल समस्या भएका थप ३ जना भेन्टिलेटर र १६ जना आईसीयूमा छन् ।

यस्तै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएकी महिला भदौ ४ गते उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग र निमोनिया देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई भर्ना भएकै दिनदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको १५ गते स्वाब संकलन गरी पठाइएकोमा १६ गते कोरोना पोजिटिभ देखिएको थियो ।