कोरोना बिमा दाबी भुक्तानी पाउन सरकारी ल्याब मै कोरोना टेष्ट गराउन पर्ने

0
Shares

काठमाडौं । कोरोना बिमा दाबी भुक्तानी पाउन सरकारी ल्याब मै कोरोना टेष्ट गराउन पर्ने भएकाे छ । निजी ल्याबबाट कोभिड–१९ परीक्षण गर्नेले पीसीआर रिपोर्ट पोजेटिभ आए पनि कोरोना बिमा दाबी भुक्तानी नपाउने भन्दै बिमा समितिले कारोना बिमा कार्यविधिलाई देखाउँदै सरकारी ल्याबबाट परीक्षण गर्नेले मात्र दाबी भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

निजी ल्याबबाट हुने गरेको परीक्षणमा ‘फ्रड’को आशंका लागेकाले दाबी भुक्तानी नदिन निर्देशन गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखियो । सरकारी योजनामा फ्रड हुन नहुने भन्दै उक्त निर्देशन दिएकाे उनले बताए ।

राजधानीकै जनप्रतिनिधिको कोरोना परीक्षण निजी ल्याबमा गर्दा पोजिटिभ आएको थियो । पछि सरकारी ल्याबमा परिक्षण गर्दा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना बिमा कार्यविधि मै सरकारीबाट मान्यता प्राप्त सरकारी ल्याबबाट गरिएको परीक्षणका आधारमा मात्र दाबी भुक्तानी गरिने उल्लेख भएको पौड्यालले जानकारी दिए ।

यसको अर्थ बिमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । यसैगरी निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बिमा कम्पनीबाट दाबी भुक्तानी पाउने गरी निर्देशनको तयारी गरिएको उनले जानकारी दिए ।