स्थानीय जनताप्रति संवदेनहीनताका कारण झडप ःसांसद् शाक्य

रथयात्रा अघि बढाउनुपर्ने जोड

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

वाग्मती प्रदेशका सांसद् शोभा शाक्यले रातो मच्छिन्द्रनाथको रथ अलपत्र राखेका कारण प्रहरी र स्थानीयबीच झडप हुने परिस्थिति उत्पन्न भएको धारणा राख्नुभएको छ ।

सांसद् शाक्यले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी रथयात्राका क्रममा उपस्थिति स्थानीय र प्रहरीबीच झडपलाई अप्रिय र दुःखद कदमको संज्ञा दिनुभएको छ । विज्ञप्तीमा भनिएको छ ‘ सम्बन्धित सरोकारवाला निकायहरुले रथयात्राका सम्बन्धमा ठोस कदम नचालेका कारण दबाब दिनु पर्ने उत्पन्न भएको थियो । स्वतस्र्फूत दबाबलाई दमन गर्न खोज्दा अप्रिय घटना घटेको हो ।’

जात्रालाई व्यवस्थित र जनस्वास्थ्यको मापदण्डको पालना गरी सम्पन्न गर्नुपर्ने सुझावलाई सरोकारवालाले बेवास्ता गर्दै आएका कारण स्थानीय जनतामा आक्रोश र असन्तुष्टि बढेको बताउँदै उहाँले भन्नुभयो ‘ स्थानीय जनताको भावनाप्रति संवेदनशीलता देखाउन नसकेको कारण झडपको अवस्था उत्पन्न भएको हो ।’कोरोनाबाट जोगिँदै रथयात्रा गर्न सरोकारवालाले तयार गरेको खाका अनुसार रथयात्रा अघि बढाउनुपर्ने पनि सांसद् शाक्यको जोड रहेको छ ।

रथयात्राका क्रममा घाईतेको निशुल्क उपचारसहित बुंगद्यः र करुणामयप्रति श्रद्धा राखेर आएका स्थानीय र सम्पदा अभियन्ताहरुको तत्काल रिहाईको लागि पनि माग गरिएको छ ।