दृष्टिविहीन बालबालिका अनलाइन शिक्षाबाट वञ्चित

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको एकमात्र दृष्टिविहीन बालबालिका अध्ययनरत शिवालय माविका विद्यार्थी विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षाबाट वञ्चित बनेका छन् । विद्यालयले सञ्चालन गरेको दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत १८ जना दृष्टिविहीन बालबालिका अनलाइन शिक्षा लिन नपाएका हुन् ।

लामो समयको कोभिड–१९ का कारण विद्यालय शिक्षा बन्द भएपछि विद्यालयले अनलाई विधिमार्फत पठनपाठन शुरू गरे पनि दृष्टिविहीन बालबालिकाको पहुँचमा पुग्न सकेको छैन । ‘अनलाइन कक्षामा दृष्टिविहीन बालबालिकालाई समेट्न नसक्दा समस्या भएको छ’, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाई भन्नुभयो– ‘दृष्टिविहीन बालबालिकामा सञ्चार प्रविधिको सहज पहुँच नहुँदा समस्या भएको छ ।’

छात्रावासमा बसेर अध्ययन गर्दै आएका १८ जना बालबालिका अहिले कोभिड–१९ कै कारण घर फर्केका छन् । दृष्टिविहीन स्रोत कक्षामा अहिले पर्वतसहित म्याग्दी, बागलुङ, तनहुँ र गुल्मीका विद्यार्थी रहेका छन् । विद्यालयमा अध्ययन गर्ने सबैजसो बालबालिकाको पारिवारिक आर्थिक अवस्था न्यून रहेका कारण दैनिकजसो मोबाइलमा रिचार्ज गरेर पठनपाठनमा सहभागी हुने अवस्था नरहेकाले समस्या भएको प्रअ चापागाईले जानकारी दिनुभयो ।

विद्यालयले समय–समयमा सम्पर्क गरे पनि अनलाइन कक्षामा सहभागी गराउन नसकिएको दृष्टिविहीन स्रोत कक्षाका शिक्षक हरिदत्त शर्माले बताउनुभयो । ‘फोन गरेर अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दा मोबाइलमा पैसा नभएको गुनासो गर्छन्’, शिक्षक शर्माले भन्नुभयो– ‘विद्यालयले उनीहरूलाई रिचार्ज गरेर पठनपाठनमा सहभागी गराउने अवस्था छैन ।’ –विद्यालयमा कक्षा ९ मा अध्ययनरत पर्वतको महाशिला गाउँपालिका–५ लुंखुका होमबहादुर क्षेत्रीले आफूसँग पैसा नभएका कारण अनलाइन कक्षामा पढ्न नसकेको गुनासो गर्नुभयो ।

‘घरमा मोबाइलमा रिचार्ज राख्ने पैसा पनि छैन’, उहाँले भन्नुभयो– ‘अनलाइन कक्षामा पढ्न सरहरूले भन्नुहुन्छ तर इन्टरनेट चलाउनका लागि मोबाइलमा राख्ने पैसा हुँदैन ।’ नगरपालिकालाई दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनका लागि सहयोग गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेको प्रअ चापागाईंले बताउनुभयो ।
यता कोरोना संक्रमणका कारण विद्यार्थी छात्रवासबाट बाहिरिएपछि नगर शिक्षा शाखाबाट मासिकरूपमा प्राप्त हुने रकमसमेत रोकिएको छ ।

विशेषत नगर शिक्षा शाखाले दृष्टिविहीन विद्यार्थीहरूका लागि आवास खर्च स्वरूप प्रतिव्यक्ति मासिक ४ हजार रुपियाँ प्रदान गर्दै आएको थियो । ‘लकडाउनका कारण विद्यालय बन्द भएपछि उक्त रकम नपठाएका हौं’, कुस्मा नगरपालिका नगर शिक्षा प्रमुख विष्णु तिवारीले भन्नुभयो– ‘छात्रावासमा नै विद्यार्थी नभएपछि वैशाखदेखि हालसम्म उक्त रकम नपठाएका हौं ।’