देउवालाई गलाउन सामूहिक राजीनामाकोे तयारी

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुलिएको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको छ ।

सभापति देउवाले महाधिवेशन भएको दुई महिनाभित्र गर्नुपर्ने विभाग गठनको काम चार वर्षपछि १४औं महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गर्न थालेपछि विवाद चर्किएको हो । सभापति देउवाले पौडेल पक्षको सहमतिकै बीचबाट बीसवटा विभागलाई पूर्णता दिइसक्नुभएको छ । बाँकी विभागलाई पनि पूर्णता दिने गृहकार्यमा सभापति लागेपछि पौडेल पक्ष भने रुष्ट बनेको छ ।

विभाग गठन, केन्द्रीय सदस्य थप्नेदेखि क्रियाशील सदस्यतामा समेत आफ्नो बहुमत पु¥याउने गरी कदम उठाएपछि पौडेल पक्षले सभापति देउवा पार्टीको विधि, विधान र पद्धतिविपरीत चलेको भन्दै उक्त कदम सच्याउन धर्ना र अनशनमा समेत उत्रिने तयारीमा जुटेको छ । देउवाले महाधिवेशनलाई केन्द्रित गरेर गरेका विधान र प्रक्रियाविपरीतका निर्णयको बारेमा अध्ययन गर्न गठित तीन सदस्यीय समितिले आवश्यक परे केन्द्रीय सदस्यबाट सामूहिक राजीनामा दिएर भए पनि अहिले विधानवितरीतको निर्णय खारेज गर्नुपर्ने सुझाव दिएको छ ।

केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सम्मिलित समितिले पार्टीभित्रका गलत निर्णय र त्यसविरुद्धको प्रतिवादका कार्यक्रमसमेत सुझाएर तयार पारेको प्रतिवेदन आफ्नो समूहका सबै नेतालाई वितरण गरिसकिएको छ । पार्टीभित्र आगामी महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पु¥याउन सभापति देउवाले विजय गच्छदारसहितका नेताहरुलाई पार्टी प्रवेश गराउनुभएको थियो । गत महाधिवेशनले २१ जना मनोनितसहित ८५ जना केन्द्रीय सदस्य चयन गरेको थियो । हाल एकता प्रक्रियाबाट पाँच जनाभन्दा केन्द्रीय सदस्य थपिएका छन् ।

नेपाली कांग्रेसका नेता रामशरण महतले सभापति देउवा पार्टीको विधानअनुसार नै अगाडि बढेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लामो समय सभापतिले पौडेल पक्षसँग सहमति कायम गरेर अगाडि बढ्न कुर्नुभएको हो, कुर्दाकुर्दा सहमति नजनाएपछि विधानअनुसार विभागमा सबै पक्षलाई समावेश गरेर पूर्णता दिने प्रक्रिया अगाडि बढाउनुभएको हो ।’

पार्टीको विधानअनुसार महाधिवेशन भएको २ महिनाभित्र र संशोधन विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरुलाई पूर्णता दिनुपर्ने प्रावधान छ । तर चार वर्षे कार्यकाल सकिएपछि सभापति देउवाले थपिएको अवधिमा धमाधम विभाग गठनको कामलाई अगाडि बढाउनुभएपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो । तर नेता महतले सभापति पार्टीको विधानअनुसार नै अगाडि बढेको दाबी गर्नुभयो ।

सभापतिले एकटौलीरुपमा पेलेर अगाडि बढेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी दिनुभएको छ नि भन्ने जिज्ञाशामा उहाँले भन्नुभयो– ‘राजीनामा दिन्छौं भन्ने धम्की हो, सभापति मिलेर अगाडि बढ्ने पक्षमा हुनुहुन्छ, सहमति कायमै गरेर जान पौडेल पक्षले नै आनाकानी गरिरहेको छ, सामूहिक राजीनामा दिने कुराको कुनै तुक छैन ।’

पौडेल पक्षले विधानविपरीत सभापति देउवाले गठन गरेको बीसवटा विभाग खारेज गर्नुपर्ने माग अगाडि सारेको छ । त्यसै गरी पछिल्लो समयमा मनोनित केन्द्रीय सदस्यहरुलाई समेत मान्यता दिन नहुने तर्क अगाडि सारेको छ । महाधिवेशन प्रभावित बनाउन देउवाले केन्द्रीय विभागको गठन, पार्टीको पुरानो संरचनाको समायोजन र क्रियाशील सदस्यतामा चलखेल गरेको पौडेल पक्षको आरोप छ ।

सभापति देउवाले महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेपछि २० वटा विभाग गठन गरेका छन् । बाँकी २७ वटा विभाग पनि गठन गर्ने सभापतिको तयारी छ । तर यसलाई पौडेल समूहले महाधिवेशनको आचारसंहिताको ठाडो गरेको आरोप लगाएको छ ।

कांग्रेसका नेता प्रदीप पौडेलले अहिले सभापति देउवाले विभाग गठन गर्ने निर्णय गरेर महाधिवेशनलाई नै प्रभावित गर्ने काम गरेको बताउनुहुन्छ । उहाँले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरिसकेको अवस्थामा विधानविपरीत विभाग गठन केन्द्रीय सदस्य मनोनितको काम गर्नु सरासर गलत काम भएको बताउनुभयो ।

‘सभापति देउवाको कार्यशैलीबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ । पार्टीका सबै तहको मिति तोकिसकेपछि विभिन्न नियुक्तिहरू गर्नु महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो, विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ गठन गरेको विभाग पनि खारेज गर्नुपर्छ।’ –उहाँले भन्नुभयो ।

सभापति देउवाले दोस्रोपटक पनि नेतृत्वमा निरन्तरता चाहेको निष्कर्ष निकाल्दै पौडेल पक्षले पार्टीभित्र बहुमत पु¥याउन विधानविपरीतका निर्णयहरु धमाधम भइरहेको आरोप लगाएको छ ।