डडेल्धुराबाटै धरापमा पर्दै सभापति देउवा

0
Shares

रामधामी, डडेलधुरा
कोरोनाका कारण सुनसान बनेको नेपाली कांग्रेस डडेल्धुराको कार्यालयमा क्रियाशील सदस्यता कहिले पुग्ला भन्ने अनुमान कसैले गर्न सकेका छैनन् । क्रियाशील सदस्यता वितरणसँगै जिल्ला अधिवेशनमा होमिने तयारीमा रहेका नेपाली कांग्रेस डडेल्धुराका जिल्लास्तरीय नेताहरु सम्ूह बनाएर राजधानीतिर लागेका, फर्किएका छैनन् ।
‘क्रियाशील सदस्यताका लागि गत फागुनदेखि निरन्तर दौडधूप गरिरहेका छौं।’ –राजधानीमा रहेका नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले अझै पाउन नसकेको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै मनोनयन गरेका नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य जनक कलौनीमार्फत गत साता एक हजार एक सय सात थान क्रियाशील सदस्यता गृह जिल्ला पठाएका छन् । पछिल्लो आमनिर्वाचन २०७४ सालमा नेपाली कांग्रेस प्रवेश गरेका तत्कालीन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कलौनीलाई उनीसँगै कांग्रेस प्रवेश गरेका माओवादी कार्यकर्ताहरुलाई वितरण गर्न भनेर नाम लिस्टका आधारमा सदस्यता फाराम उपलब्ध गराएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

कलौनी कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि उनीसँग नेका प्रवेश गरेका साथीहरु भने नेकाको कार्यशैलीसँग निराश भएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा फर्किएका छन् ।

कार्यवाहक सभापति करुणाकर भट्टका अनुसार हाल नेपाली कांग्रेस डडेल्धुरामा कुल २ हजार ८ सय ३४ क्रियाशील सदस्य आबद्ध छन् । ‘पार्टीको जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता फारम उपलब्ध नगराउने तर अन्य पार्टीबाट प्रवेश गरेका व्यक्तिहरुलाई कुनै मापदण्डबिना धमाधम हजारौंको संख्यामा क्रियाशील सदस्यता दिने सभापति देउवाको रणनीति आश्चार्यजनक छ’, नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिका सदस्य सन्तोष देउवा भन्नुहुन्छ– ‘गृहजिल्लामै आफ्नो वर्चस्व गुम्ने खतरा देखेर सभापति देउवाले पुराना र इमानदार नेताकार्यकर्तालाई पाखा लगाउने रणनीति बनाएको आशंका बढेको छ ।’

नेपाली कांग्रेस डडेल्धुराको इतिहास पल्टाउने हो भने सभापति देउवाले हालसम्म कुनै पनि जिल्लास्तरीय नेताहरुलाई माथि उठ्न दिनुभएको छैन । ‘जिल्लास्तरमा पार्टीभित्र गुटबन्दी चलाएर आफ्नो दुनो सोझ्याउने सभापति देउवाको पुरानै रणनीति हो’, नेपाली कांग्रेस डडेल्धुराका पाका सदस्य भरत नेपालीले भन्नुभयो– ‘नेपाली कांग्रेस डडेल्धुराको हालसम्मको इतिहास हेर्ने हो भने देउवाकै निर्देशन र योजनाअनुसार जिल्लास्तरका नेताहरुबीच गुटबन्दी चल्ने गरेको पाइन्छ ।’

‘चौथो जिल्ला अधिवेशनदेखि छैटौं जिल्ला अधिवेशनसम्म धर्मपत्नीसहित सभापति देउवाको नाममा भोट हालिएको रेडिमेट मतपत्र छापिने गरेको हो’, डडेल्धुरा कांग्रेसका एक पाका नेता भन्छन्– ‘यसपालि मल्ल नेतृत्वको टिमले सभापति देउवाका सबै निर्देशन पालना गर्ने अवस्था छैन, त्यसैले मल्ललाई टिमसहित पाखा लगाउन अन्य पार्टीबाट आएका नेताकार्यकर्तालाई क्रियाशील सदस्यता दिने र जिल्ला कार्यसमितिमार्फत सदस्यता वितरणमा रोक लगाउने रणनीतिमा देउवा भएको सहजै अड्कल गर्न सकिन्छ ।’

सभापति देउवासँगै नेपाली कांग्रेसको राजनीतिमा होमिएका स्वतन्त्रता सेनानी सत्यराज पनेरु, डीएल भण्डारी, महादेव भट्ट, पीएच भट्ट, धीरेन्द्र रावल, पदम भट्ट ‘काजी’, देवबहादुर खड्का, प्रकाश विष्टलगायतका सबै नेताकार्यकर्तालाई जिल्लास्तरमा संगठन बलियो बनाएकै कारण सभापति देउवाले राजनीतिबाट पाखा लगाइसकेको नेपाली कांग्रेस डडेल्धुराका पुराना नेताकार्यकर्ता बताउँछन् ।

नेकाको राजनीतिमा लामो समयदेखि क्रियाशील पाका नेता रामदत्त भट्टले भन्नुभयो– ‘देउवाकै कारण डडेल्धुराजस्तो कांग्रेसको गढमा वामपन्थी राजनीति हावी हुन थालेको छ ।’