बागलुङ पहिरो पीडितको लागि राहात लिएर गृहमन्त्री आउँदै, मृतकको संख्या १० पुग्यो


सिर्जना पन्त, बागलुङ ।

बागलुङको ढोरपाटन नगरपालिका–९ भुजिखोलाका बाढी पीडितको लागि राहात बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसँगै सासंद देवेन्द्र पौडेल पनि बाढी प्रभावित क्षेत्र आउदै हुनुहुन्छ । गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर गएको उहाँका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो ।

बाढीले बगाएर मृत्यु हुनेको संख्या १० पुगेको छ । क्षत विक्षत अवस्थामा फेला परेको कारण शवको पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले वडा नम्बर ९, ८ र ७ का ३१ घरमा पूर्ण क्षति पु¥याएको छ ।

४१ जना वेपत्ता भएका छन् । शव भेटिएकाहरुको पहिचान हुन नसक्दा वेपत्ता भएका ४१ मध्येकै मृतक हुन या होइनन् भन्ने बताउन सक्ने अवस्था नरहेको रेग्मीले बताउनुभयो ।

‘कसैको खुट्टा चुडिएको छ, कसैको ढाड देखी तलपट्टीको भाग छैन, कसैको टाउँको चुडिएको अवस्थामा शव फेला परेको छ रेग्मीले भन्नुभयो हिलोमा लतपत अवस्थामा रहेकाले तत्काल शवको पहिचान हुन सकेको छैन ।’ घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ ।

बाढीग्रस्त क्षेत्रबाट हालसम्म चार जना घाइतेको उद्दार गरिएको छ । घाइते हुनेमा ढोरपाटन न.पा.४ दुनेपोखरा बस्ने बर्ष १५ को महेन्द्र पुन, वर्ष २८ की सरीता घर्ती, बर्ष ४२ को धर्मेन्द्र पुन, बर्ष ५४ की बेलमती पुन हुनुहुन्छ ।