जेठाजुले बुहारीलाई बन्चरो प्रहार गरी हत्या


मोतीराम तिमल्सिना, काभ्रे । 

नमोबुद्ध नगरपालिका वडा नम्वर ८ डराउनेपोखरीमा जेठाजुले बुहारीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । विहिबार विहान घरायसी विषयमा विवाद हुँदा बन्चरो प्रहार गरिएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

श्यामपाटी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने जेठाजु सुर्दशन अधिकारीलाई नियन्त्रणमा लिएको छ । ३५ बर्षीया रञ्जना अधिकारी डराउनेपोखरी स्वास्थ्य चौकीमा केहि वर्ष देखि कार्यालय सहयोगिका रुपमा कार्यरत थिईन् ।

एक सन्तानकी आमा रञ्जना र उनका श्रीमान बीच केहि समय अघि सामान्य खटपट भए पनि पछि सँगै बस्दै आएका थिए । भारतमा बस्दै आएका जेठाजु सुर्दशन कोरोना भाईरस नियन्त्रण गर्न लकडाउन गर्नु अघि घर फर्किएका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली पुगिसकेको छ । घटनाका बारेमा अनुसन्धान शुरु गरिसकेको डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।