अन्जानमा भएको संक्रमणले परिवारलाई नै पीडा


चिरञ्जीवी मास्के, दोलखा

उनी स्वास्थ्यकर्मी हुन्, आफूलाई कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा उनी अनभिज्ञ छिन् । अन्जानमा भएको कोरोना संक्रमणको पीडा भने उनले जीवनभरि नभुल्ने गरी भोगेकी छन् ।

दोलखा भीमेश्वर नगरपालिका–२ की उनै स्वास्थ्यकर्मी बुधबार प्रस्तावित चरिकोट अस्पतालबाट कोरोनालाई जितेर घर फर्कंदै गर्दा निकै भावकु बनिन् । बलिन्द्र आँसुलाई रोक्न नसकेको उनले आफू कोरोना संक्रमित बनेर अस्पतालको आइसोलेसनमा संघर्ष गरिरहँदा आफ्नो हौसला बढाउने र सहयोग गर्नुपर्ने जमातले समेत घरपरिवार र स्वयम् आफूलाई समेत अनावश्यकरुपमा मानसिक तनाव दिएको भन्दै गुनासो गरिन् ।

‘कोरोना जित्न सकिन्छ तर समाजले दिने पीडा असाधारण भयो’, उनले भनिन्– ‘कमसेकम समाजले सहयोग गर्न नसके पनि पीडा दिने र असहयोग गर्ने काम बन्द गर्नुपर्छ ।’ भदौ ६ गते कोरोना संक्रमण भएको रिपोर्ट आएदेखिको ११ दिनको अवधिमा आफूले र आफ्नो परिवारले भोग्नुपरेको मानसिक पीडाको क्षतिपूर्ति कतैबाट हुन नसक्ने उनी बताउँछिन् ।

बुधबार नै कोरोनालाई जितेर घर फर्कन लागेका एनजीओकर्मी युवाले पनि दह्रो आत्मबल र अस्पतालका स्वास्थ्यकर्मीको सहयोगले सजिलै कोरोनालाई पराजित गरेको बताए । ‘कोरोनालाई सजिलै जित्न सकियो’, उनले भने– ‘तर समाजले अझै पनि कोरोना संक्रमितलाई गर्ने व्यवहारमा परिवर्तन भइनसकेकाले त्यही समाजमा पुनःस्थापित कसरी हुने भन्ने चिन्ताले सताएको छ ।’ कोरोना जितेर काममा फर्कने सबैलाई सरकार, स्थानीय निकाय र कार्यरत संस्थाले समाजमा पुनःस्थापित गर्न भूमिका खेल्नुपर्ने ती युवकको आग्रह छ ।

बुधकार सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालको आइसोलेसनबाट दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र चार एनजीओकर्मी गरी सात जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । उनीहरुलाई स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झा, अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विनोद दंगाल, प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल)का प्रमुख डा. रिना लामिछाने, भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्कालगायतका स्वास्थ्यकर्मीले बिदाइ गरेका थिए ।

प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख डा. रिना लामिछानले कोरोना संक्रमितलाई स्वास्थ्यकर्मी, परिवार र समाजले राम्रो व्यवहार, हौसला र सहयोग गर्ने हो भने छिट्टै ठीक हुने बताउनुभयो । ‘कोरोना संक्रमितलाई अपमान या असहयोग हैन हौसला र सहयोग गर्नुपर्छ जसले हामी सबै कोरोनाविरुद्धको लडाइँमा सफल हुन सक्छौं।’ –डा. रिनाले भन्नुभयो ।

दोलखामा अहिलेसम्म भीमेश्वर नगरपालिका तथा गौरीशङ्कर, बिगु र कालिञ्चोक गाउँपालिकाको ३१ जना कोरोना संक्रमित बनेको र त्यसमा १८ जना ठीक भएर घर फर्किएको तथा १३ जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झाले बताउनुभयो ।