कैदीबन्दीमा कोरोना संक्रमण : १ जना कैदीको मृत्युसहित १ सय १८ जना संक्रमित


काठमाडौं ।

विभिन्न कसुरमा दोषी ठहर भइ तथा पुर्पक्षका लागि देशभरका विभिन्न कारागारमा रहेका कैदीबन्दीमध्ये १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गृह मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण देखिएकामध्ये ४९ जना संक्रमण मुक्त भइसकेका छन् । यस्तै, ६९ जना कैदी अझै सक्रिय संक्रमित छन् ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट १ जना कैदीको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । गृह मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तीमा कैदी बन्दीहरुमा कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइको दाबी गरिएको छ ।

उच्च सतर्कतका बीच पनि कैदीहरुमा कोरोना संक्रमण देखिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रवक्ताद्वारा जारी विज्ञप्तीमा कैदी बन्दीहरुमा कोरोना संक्रमण हुन नदिन तथा संक्रमण भएमा उपचारको यथोचित प्रबन्ध मिलाउन गृह मन्त्रालय पूर्ण रुपमा सजग रहेको पनि जनाइएको छ ।

कैदीहरुमा कोरोना संक्रमण हुन नदिन वाह्य व्यक्तिहरुको भेटघाट नियन्त्रण गर्ने, बिरामी कैदी बन्दीहरुलाई सम्भव भएसम्म कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीहरुबाटै उपचार गराउने, सोबाट सम्भव नभए सुरक्षित रुपमा स्थानीय वा अन्य अस्पतालमा उपचार गराइ फर्के पछि कारागार परिसरमा छुट्टै बस्ने व्यवस्था मिलाउने गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव बुढाद्वारा जारी विज्ञप्तमा जनाइएको छ ।

यस्तै, काठमाडौं उपत्यकाका हकमा संक्रमित कैदी बन्दीहरु राख्न कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रलाई आइसोलेसनका रुपमा प्रयोग गर्ने व्यवस्था गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसका अतिरिक्त केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा) परिसरमा रहेको घरेलु तालिम केन्द्रको कारखानालाई आइसोलेसन बनाउन निर्माण कार्य थाल्ने विषयमा मातहत निकायलाई निर्देशन दिइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

थप संक्रमण हुन नदिन तथा कैदीबन्दीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न प्रहरी प्रधान कार्यालय, कारागार व्यवस्थापन विभागमार्फत सबै कारागार कार्यालय र सबै प्रमुख जिल्ला अधिकारीहरुलाई आवश्यक निर्देशन दिइएको र प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयबाट निरन्तर ताकेता र अनुगमन भइरहेको प्रवक्ता बुढाले जानकारी दिएका छन् ।