वन फँडानी प्रकरण: ‘रुख काट्ने नियतका साथ सडक निर्माण’


राम धामी, डडेल्धुरा

डडेल्धुराको आलिताल गाँउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिअन्तर्गतको संसदीय समितिले ठहर गरेको छ ।

डोला चक्रपथ सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुखहरू काटिएको विषयमा सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले आइतबार स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको र रुख काटेर तस्करी गर्न नियोजितरूपमा सडक निर्माण गरिएको संसदीय समितिले जनाएको छ ।

प्रदेशसभा सदस्य दीर्घराज सोडारीको नेतृत्वमा अनुगमन गरेको पाँच सदस्यीय संसदीय समितिले सोमबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै वातावरणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएको डोला चक्रपथ सडक काठ तस्करी गर्ने नियतबाट निर्माण गरिएको र अन्धाधुन्ध सालका हरिया रुखहरू काटिएको जनाएको छ ।

‘सडक निर्माणका नाममा सालका रुखहरू काटेर गोलिया बनाई धनगढीतिर तस्करी भइसकेको र तस्करी हुन नसकेको काठमात्रै डिभिजन वन कार्यालय डडेल्धुराको टोलीले बरामद गरेको पाइएको छ ।’ –संसदीय टोलीको नेतृत्व गरिरहेका सांसद सोडारीले भने । उनले स्थलगत अध्ययनका आधारमा छानबिन प्रतिवेदन तयार गरेर दोषी निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

डोला चक्रपथ सडक निर्माणका लागि गाउँसभाबाट कुनै निर्णय भएको नपाइएको र अवैधरूपमा वन फँडानी गर्ने कुत्सित मनशायका साथ काम भएको पाइएको संसदीय समितिका अर्का सदस्य महेशदत्त जोशीको कथन छ । उहाँले कामदारलाई भन्दा पनि निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभयो । संसदीय समितिमा सोडारी र जोशीसँगै सांसदहरू पूर्णा जोशी, अक्कलबहादुर रावल र प्रेमप्रकाश जोशी हुनुहुन्छ ।

गाउँपालिकाअन्तर्गतको गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका रुख अवैधरूपमा काटिएका हुन् । आलिताल गाउँपालिकाको समपूरक कोषअन्तर्गत निर्माण शुरू गरिएको सडकमा रहेका रुख वन कार्यालयको अनुमतिबिना कटानी गरी गोलिया बनाएर लुकाइराखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल वन अधिकृत डबलबहादुर बोहराले जानाउनभयो ।

सो सडक निर्माणका क्रममा कोटिएका १ सय १० थान गोलिया काठ बरामद गरिएको र बाँकी लुकाएर राखिएको काठको खोजी भइरहेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । सो सडक निर्माणका लागि आलिताल गाउँपालिकाले ठेक्कामार्फत उग्रतारा कन्स्ट्रक्सनसँग सम्झौता गरेर काम गरेको आलिताल गाउँपालिकाले जनाएको छ ।

पहिला नै ट्रयाक खोलिएको सडक भएको र समयावधि निकै कम भएकाले वातावरणीय प्रभाव मूल्यांकन नगरेरै निर्माण शुरू गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकारबाट निर्माण गरिएका सडक योजनाहरूमा समेत वातावरणीय प्रभाव मूल्यांकन गरिएको जिकिर गर्नुभयो ।

डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्य जिल्लाका विभिन्न स्थानमा संघ, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका अधिकांश सडक योजना वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै निर्माण भइरहेको बताउनुहुन्छ । अधिकांश सडक निर्माणका क्रममा रुख काटिएको बताउँदै उहाँले यस्तो समस्या देशभरि देखिएको जिकिर गर्नुभयो । प्रदेश सरकारले वन ऐन ल्याउन नसकेकाले कानुनी जटिलता कायम रहेको बताउँदै सडक निर्माणका क्रममा रुख काट्ने ठेकेदार कम्पनीलाई थप अनुसन्धान गरेर मुद्दा चलाइने उहाँको भनाइ छ ।