अनलाईन मार्फत सरकारी वकिलको भवन उद्घाटन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महान्यााधिवक्ता अग्निप्रसाद खरेलले विभिन्न स्थानमा बनेका ११ वटा सरकारी वकीलको कार्यालयको नवनिर्मित भवनहरुको उद्घाटन गर्नु भएको छ ।

उहाँले अनलाईन प्रविधिमार्फत आइतबार दिउँसो ती कार्यालयहरुको उद्घाटन गर्नु भएको हो । सो कार्यक्रमलाई सम्बोदन गर्दै उहाँले अप्ठ्याराका बीचमा सहजता खोज्दै, समस्याका बीचमा अवसरलाई पहिल्याउँदै सरकारी वकीलको कार्यालयको संस्थागत सुदृढीकरण गर्ने सन्दर्भमा यो आर्थिक वर्षको शुरुवातमै विभिन्न ११ वटा सरकारी वकील कार्यालयको भवन उद्घाटन गरिएको बताउनुभयो ।

‘यस बीचमा महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले तय गरे अनुरुप संस्थागत सुधार अन्तर्गत सरकारी वकीललाई भौतिक संरचनामा पनि अब्बल बनाउने उद्देश्य छ ।उहाँले भन्नुभयो–‘ जसअनुसार आगामी दिनमा थप दशवटा भवनहरु निर्माणको चरणमा रहेको र हाल सम्म पचास वटा नयाँ भवनहरु उद्घाटन भईसकेको छ ।’

सरकारी वकीललाई भौतिक रुपमा सुविधा सम्पन्न बनाएर क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु समेत संचालन गरेको खण्डमा मात्र मुद्दाको अभियोजन वस्तुपरक हुन सक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘यो कोभिडको विषम परिस्थितिमा समेत विभिन्न तीनवटा क्षमता विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । ’

कार्यक्रममा नायब महान्याधिवक्ता पद्य्मप्रसाद पाण्डेयले विश्व कोभिड–१९ को महामारीमा परेको समयमा महान्याधिवक्ताको कार्यालयले अनलाईन मार्फत विभिन्न भवनहरुको उद्घाटन ऐतिहासिक भएको बताउनुभयो । ‘जुन नेतृत्वले अप्ठ्यारामा अवसरलाई खोज्दछ त्यो नेतृत्व नै सफल नेतृत्व भएको उल्लेख गर्दै योजनाबद्ध ढंगबाट कार्यक्रमहरु निर्धारण गरिएकाले महान्यायाधिवक्ताको कार्यालयको भौतिक निर्माणमा सफलता मिलेको हो ।’, उहाँले भन्नुभयो ।

उच्च सरकारी वकीलको कार्यालय पोखरा, जिल्ला सरकारी वकीलको कार्यालय भोजपुर, धनुषा, महोत्तरी, सिराहा, बर्दिया, सल्यान, हुम्ला, कैलाली, डडेलधुरा र दाचुलाको नवनिर्मित भवनको उद्घाटन भएको हो । सो कार्यक्रममा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश किशोर सिलवाल, सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौला, नेपालबार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, मुख्यन्यायाधिवक्ताहरु, सहन्यायाधिवक्ताहरु, प्रमुख जिल्ला अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।