लिदी पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत


नानीराम नेपाल, सिन्धुपाल्चोक । लिदी पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई जुगल गाउँपालिकाले आर्थिक सहायता प्रदान गरेको छ । सोमबार पूर्व सांसद सुभाष कर्माचार्य सहित लिदि पुगेको गाउँपालिकाको टोलीले प्रति मृतक एक लाखका दरले राहत र किरियाखर्चका लागि २५ हजारका दरले रकम प्रदान गरेको हो ।

पूर्व सांसद सुभाष कर्माचार्यले पीडित परिवारलाई रकम हस्तान्तरण गर्नुभयो । आर्थिक सहायता बोकेर मृतक परिवारलाई भेट्न पैदल हिँडेर नै लिदी पुगिएको र सहायता प्रदान गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

मृतक परिवारलाई राहत प्रदान गर्न जुगल गाउँपालिकाका वडाध्यक्षहरु कमल थापा, दिलकुमार लामा, जंग तामाङ, प्रेम तामाङ, प्रताप लामा लगायत स्थानिय जनप्रतिनिधिहरु पनि लिदि पुग्नुभएको थियो ।

गाउँपालिकाको निर्णय अनुसार पहिरो पीडित परिवारलाई सहयता प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सोमबार नै ईन्द्रेणी परिवारका कृष्ण कँडेलको टीमले पनि पहिरो ग्रस्त क्षेत्रमा पुगेर पीडित तथा प्रभावित परिवारलाई सहयोग गरेको छ ।