चोभार मन्दिर बन्द

मर्निङवाक जानेहरु घटे

0
Shares

न्युज अफ नेपाल, कीर्तिपुर ।

कीर्तिपुर नगरपालिका– ६ स्थित ऐतिहासिक आनन्दादि लोकेश्वरको मन्दिर शुक्रबार बन्द गरिएको छ ।

कच्छपाल सुवर्णगिरि महाविहार सुधार समितिले सार्वजनिक सूचना प्रकाशित गरी मन्दिर भदौं १५ गतेसम्मका लागि मन्दिरको तीन वटै प्रवेशद्वारहरु बन्द हुने जनाएको छ ।

मन्दिर आसपासको क्षेत्रमा कोरोना संक्रमित देखिएको जनाउँदै समितिका सचिव सरोज शाक्यले भन्नुभयो‘ कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउन विहार सुधार समितिले सो निर्णय गरेको हो । ’ यस अघि सरकारले चैत्र ११ देखि जेठ मसान्तसम्म गरेको लकडाउनमा समेत मन्दिर बन्द गरिएको थिएन ।

काठमाडौंको दक्षिणमा अवस्थित सो मन्दिर र वरपरको वातावरण धार्मिक दृष्टिसंगै प्राकृतिक वातारणीय हिसाबले स्वच्छ र हराभरा रहेको छ । मन्दिर परिसरको क्षेत्रलाई चोबहाः भनिन्छ ।सो स्थानमा कीर्तिपुर, पाँगा, नंगाः भाजंगल र ललितपुरका विभिन्न स्थानबाट गरी दैनिक ३ सय हाराहारीमा पदैल यात्रा र दर्शनका लागि आउने गर्दछ । कोरोनाको जोखिमसंगै सो स्थानमा मर्निङ वाक जानेहरुको संख्या घटेको ललितपुर नकबहीलबाट हरेक दिन मर्निङ वाक जाने स्थानीय रोजेश धाख्वाले जानकारी दिनुभयो ।