अनुसन्धानका लागि प्रशासनलाई ध्यानाकर्षण



जाजरकोट, (नेस)
स्थानीय प्रशासन नजिकै सुरक्षाको दृष्टि कोणले सुरक्षित स्थानमा रहेको भेरी नगरपालिका–३ स्यालामा शृङ्खलाबद्धरूपमा हत्याका घटना हुन थालेपछि प्रभावकारी अनुसन्धानका लागि नागरिक समाज जाजरकोटले स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको छ ।

जाजरकोट सदरमुकामको स्यालागाउँमा केही वर्षयता हत्यालगायत चोरी, कुटपिट, लुटपाटका घटनाहरू घट्दै गएकाले सरकारका निकायले नागरिकप्रति गर्नुपर्ने दायित्व र उपस्थिति खोजी नागरिक समाज, मानव अधिकारकर्मी लगायतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई ध्यानाकर्षण गराएको नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

तीन वर्षअघि स्थानीय शिवलाल सुनारको हत्या भएको तर प्रभाकारी अनुसन्धान तथा कारबाही नभएको, गत साउन ६ गते पठवीर कामीको हत्या भएकोमा पीडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले जाहेरी लिन नमानी पीडित परिवालाई उल्टै धम्की आएको र साउन १३ गते दुर्पति सुनारको हत्या भएकोमा अहिलेसम्म हत्यारा पत्ता लाग्न नसकेकाले विभिन्न घटनाक्रमका कारण गाउँ असुरक्षित भएको भन्दै स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको इन्सेक प्रतिनिधि दिनेश श्रेष्ठले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै जिप्रका प्रमुख जनकराज पन्तले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्