२४ दिनपछि हट्यो खानेपानी समस्या



मिला दरै, तनहुँ
अविरल वर्षापछि खसेको पहिरोले खानेपानीको पाइपमा क्षति पु¥याएपछि खानेपानीबाट वञ्चित भएका दमौलीवासीको समस्या समाधान भएको छ । २४ दिन अघिदेखि तनहुँको सदरमुकाम कोे खानेपानी समस्या बुधबार समाधान भएको छ ।
असार २९ गतेदेखि व्यास नगरपालिका २, ३ र ४ नम्बरका वडावासी खानेपानीबाट वञ्चित रहेका थिए । सदरमुकामका यी तीनवटै वडाको खानेपानी आपूर्तिमा क्षति पु¥याएको पाइपको मर्मत गरिएपछि समस्या समाधान भएको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मीरा जोशीले जानकारी दिनुभयो ।
मादी नदीबाट लिफ्टिङ गरेर वितरण गर्दै आएको पानीको पाइप वडा नम्बर ४ मादीपुल नजिक बैरेनी मार्गमा माथिबाट आएको पहिरोले बगाउँदा अवरुद्ध बनेको र त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याइएको दमौली खानेपानी उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो । पहिरोले करिब २४ मिटर लामो १० इन्चको डीआई पाइप बगाउँदा लामो समयदेखि खानेपानी आपूर्ति अवरुद्ध हुँदा ३० हजार दमौलीवासीले सास्ती भोग्नुपरेको थियो ।
एक सातामै सम्पन्न गरेर पानी सुचारु गर्ने लक्ष्यअनुरूप काम थालिए पनि बीच–बीचमा वर्षा भइरहने गर्दा निर्माण कार्यमा ढिलाइ भएको अध्यक्ष जोशीले जनाउनुभयो । बिहान–बेलुका गरी दैनिक ३० लाख लिटर पानी वितरण गर्दै आएको थियो । पाइपमा क्षति पु¥याउँदा उक्त संस्थाले पुरानो पानीको एक लाइनबाट पम्पमार्फत करिव ३० प्रतिशत पानी वितरण गरिएको थियो ।
पाइपमा क्षति हुँदा १५ लाख रुपियाँ खर्च भएको संस्थाका व्यवस्थापक गिरीले बताउनुभयो । दमौली खानेपानीको पाइप पहिरोले बगाएर पानी अवरुद्ध हुँदा बढी मात्रामा होटल व्यवसायी मर्कामा परेका थिए । कोरोना भाइरसका कारण तीन महिनासम्म बन्द रहेको व्यवसाय सञ्चालन हुनासाथ पानीको समस्या हुँदा सास्ती व्यवसायीले पनि सास्ती बेहोरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्