हमालका निर्माण व्यवसायी भाइ राकेशको भारतमा निधन


अभिनेता राजेश हमाललाई भातृशोक परेको छ। उनका भाइ राकेश हमालको उपचारका क्रममा बुधबार भारतमा निधन भएको होे।

राकेश लामो समयदेखि कलेजो रोगसँग जुध्दै आएका थिए। उनको कलेजोले काम गर्न छोडेपछि केहीअघि कलेजो प्रत्यारोपण गरिएको थियो। राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन्। तर, केही दिनअघि कलेजोमा समस्या भएपछि उपचारका लागि उनलाई लकडाउनकै समयमा भारतको नयाँदिल्ली लगिएको थियो। कारोनाको जोखिम र त्यसका कारण लगाइएको लकडाउनको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेकाले राकेशलाई विमान चार्टर गरी दिल्ली पु¥याइएको थियो।

अस्पतालले उनको भेलिन्टरमा राखेर उपचार गरिरहेको थियो। उनको भेन्टिलेटरमै निधन भएको पारिवारिक सूत्रले जनाएको छ। राकेशको उपचारका लागि उनको परिवारिक सदस्यहरू पनि दिल्ली पुगेका थिए। अभिनेता हमाल भने काठमाडौंमै बसेर उनको स्वास्थ्य अवस्था नियालिरहेका थिए।

सामाजिक विकास र निर्माणका काममा सक्रिय राकेश निर्माण व्यवसायी थिए। उनको परिवारमा श्रीमती र एक छोरा र छोरी छन्। राकेशको दुई दिदी, एक दाइ र एक बहिनी छन्। उनी अभिनेता हमालभन्दा दुई वर्षले कान्छो थिए। उनका दिदी र भाञ्जीहरू चिकित्सक हुन्। राजेश र राकेशको परिवार कपुरधारास्थित एकै घरमा सँगै बस्दै आएका थिए। राकेशको निधनको खबर पाएपछि हमालका आफन्त र शुभचिन्तक सरसल्लाह र सान्त्वना दिन उनको निवासमा पुगेका थिए।

राकेशको शव अन्तिम श्रद्धाञ्जली र अत्येष्टिका लागि नेपाल ल्याउन हमाल परिवारले प्रक्रिया अगाडि बढाएको छ।