रतीखोला मोटरेबल पुल निर्माण कार्य अन्तिम चरणमा


दुृर्गाप्रसाद शर्मा,पर्वत ।

पर्वतको डिमुवा–राम्जा सडकमा पर्ने रतीखोला मोटरेबल पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
लामो समय देखि जग्गा बिबाद लगायतका कारणले रोकिएको पुलको झण्डै ९० प्रतिशत निर्काण कार्य पुरा भएको हो । निर्माणाधिन पुलको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अनुगमन गर्दै जति सक्दो छिटो निर्माण कार्य पुरा गर्न निर्देशन दिनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङ्गले दिएको जानकारी अनुसार पुल निर्माण कार्यको झण्डै ९० प्रतिशत पुरा भएको छ । रतिखोलामा निर्माण भएको मोटरेबल पुल ७० मिटर लामो तथा ६ मिटर चौडाईको छ । अहिले सम्म पुलको ढलान कार्य सकिएको र अब सडक, रेलिङ्ग र फिलिङ्गको काम बाँकी रहेको छ ।

पुल निर्माण कार्य असारमा नै सक्नुपर्ने भएपनि लक डाउनका कारण थप केही समय लम्बिन पुगेको सडक डिभिजन बागलुङ्गका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । ‘पुल निर्माण कार्य अन्तिम चरणमा छ’ उहाँले भन्नुभयो ‘अब तीन महिना भित्रमा सबै निर्माण कार्य पुरा गरेर सवारीका साधन सञ्चालनमा ल्याउन सकिन्छ।’

पुल निर्माणको काम रसुवा÷श्रीगीता÷फेवा जेभीले गरिरहेको छ । लक डाउनको समयमा पनि एउटा फेजको ढलान, राम्जा र चित्रे तर्फ जाने सडक खन्ने काम गरिएको कम्पनीका साइड इन्र्चाज निलकुमार राईले बताउनुभयो । उहाँले त निर्माण काम ७ प्रतिशत मात्रै बाँकी रहेको बताउनुभयो ।

‘अब तीन महिना म्याद थप भएमा निर्माण काम सकिन्छ ’ उहाँले भन्नुभयो ‘लक डाउनमा पनि धेरै काम भए तर सोचे अनुसार काम गर्न कठिन भयो’ पुल मुल्य अभिवृद्धि कर बाहेक ८ करोड ४ लाख रुपैंयाको लागतमा निर्माण भैरहेको छ। पुलमा भेरिएसन रकम समेत थप हुने भएको छ। पुल निर्माण गर्नका लागि २०७२ असारमा सम्झौता भएपनि खोला किनारका जग्गाधनीको बिबादका कारण २२ महिना ढिलो शुरु भएको थियो । पुल निर्माणका लागि दोस्रो पटक म्याद थपिएको थियो ।

रतिखोलामा पुल नहुँदा वर्षा याममा तीन महिना सवारीसाधन चलाउन कठिन हुँदै आएको छ। तीन महिना त्यस क्षेत्रमा चल्ने सवारी साधन बन्द गर्नुपर्ने अवस्था छ । पर्वतको दोस्रो ब्यापारिक केन्द्र डिमुवा देखि राम्जा सम्म जोड्ने सडक कालोपत्रेको काम भैरहेको छ । लक डाउन नभएको अबस्थामा असार सम्ममा कालोपत्रे सकिने भएपनि कालोपत्रे गर्ने कामदारको अभाबका कारण निर्माण हुन सकेको छैन ।

सडकमा यस बर्ष ७ किलोमिटर पक्की गर्ने लक्ष्य थियो । २०७३ मंसिर २४ बाट निर्माण कार्य शुरु भएपनि तीन तहका निर्वाचनका कारण पनि सडक निर्माणले गति लिएको थिएन । गएको कार्तिक देखि सडक निर्माण पुरै रोकिएको अबस्थामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बिशेष पहल पछि सडक निर्माण कार्य सुचारु भएको थियो ।

पुल र सडकको अनुगमन गरेपछि अध्यक्ष तिमिल्सिनाले निर्माण कार्यलाई जति सक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले बर्षा याममा सबैभन्दा बढी समस्या हुने भएकाले पुल समयमा सक्दा सर्वसाधरणले ज्यान जोखिममा पार्ने अबस्था अन्त्य हुने कुरालाइ मनन गरेर काम गर्न निर्देशन दिनुभयो । कुनै समस्या भए सम्बन्धित निकायबाट सहज बनाउन आफुँले निरन्तर पहल गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले कालोपत्रे सडक र पुलमा यात्रा गर्ने दिन जनताले पर्खेर बसेका छन भन्नुभयो ।

डिमुवा राम्जा सडक कालोपत्रे भएपछि मोदी गाउँपालिकाको तिलहार, राम्जा, चित्रे तथा कुस्मा नगरपालिकाको १८ नम्बर वडका बासिन्दाहरु प्रत्यक्ष गाबिसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन । सडक कालोपत्रे भएपछि पर्यटकीय स्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा होमस्टे सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुने छ ।