घर परिवार सबै लग्यो, हेर्न पनि जान सकेका छैनन् अमर र बिकास


दुर्गाप्रसाद शर्मा,दुर्लुङ्ग,पर्वत ।

असाध्यै मिलेको परिवार थियो तुलबहादुर थापा र कमला बिकको । तुलबहादुर ढकालबारीमा पहिरोको जोखिम भएकाले काउलेमा जमिन किनेर घर बनाउन आइपुगेका थिए भने कमला बिकले पनि बिदेशमा भएका श्रीमानको कमाईले एउटा घर त्यही ठाउँमा बनाएकी थिइन । आफुँले बनाएका सुन्दर घरमा परिवारलाई ओत लगाएका दुई परिवारको खुसीको संसार जेठ ३१ मा आएको पहिरोले उजाड बनाइदियो ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गको काउले ढकालबारीमा गएको जेठ ३१ गते राती गएको भेल पहिरोमा तुलबहादुर थापा, लकडाउनमा माइतीमा आएकी थापाकी छोरी दिर्पा र कमला बिकको परिवारका ९ जनाको मृत्यु भयो । घरमा बसेका सबैको मृत्यु भएपनि घर भन्दा पाँच सय मिटर पर भाडाको घरमा पसल गर्दै आएका तुलबहादुरका छोरा अमर र श्रीमती तथा बिदेशमा रोजजारीमा रहेका कमल बिक ज्युँदै छन । पहिरोमा घर परिवार गुमाएको झण्डै एक महिना भयो ।

तर खुसीको संसार उजाड बनाउने पहिरोमा पुगेर राम्ररी हेर्न पनि सकेका छैनन अमर र बिकासले । ’हिम्मत जुटाएर पहिरो सम्म त पुगे तर देख्ने बित्तिकै रिंगटा लागेर ढल्न पुगे’ श्रीमती, छोरा र छोरी गुमाएपछि एक्लो बनेका बिकासले भन्नुभयो‘मैले बिदेशमा पसिना बगाएर बसाइको संसार उडेको छ, कसरी मन थाम्न सकिँदो रैछ र?’ पहिरोमा परिवार गुमेपछि बिदेशबाट फर्केका बिकासले क्वारेन्टीनको बसाई पुरा गरेपछि कोरोना परिक्षण पछि मात्रै पहिरोमा पुग्नुभएको थियो । पटक पटक श्रीमती, छोरा र छोरी सम्झेर भक्कानिएर रुने गर्नुभएको छ ।

घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र ८ महिना पुगेको थियो कमलको । परिवारको खुसीका लागि साउदी अरबमा दिनभर ड्युटी सकेर १४ वर्षिय छोरा जेनिश विकलाई फोन गरेर डाटा खोल्न भनेका थिए भिडीयोमा कुराकानी गर्न । मोबाइलमा पैसा नभएको बताएर आमा संग बोल्ने योजना छोराले सुनाए तर त्यो कहिल्यै पुरा हुन सकेन । ‘मेलापातबाट फर्केकी श्रीमती संग खानपिन पछि बोल्नका लागि कल गरे तर कहिल्यै नउठ्ने गरि बन्द भएको रहेछ फोन पनि ।’

पहिरोमा बिकासका कमला बिक संगै छोरा जेनिश र छोरी प्रमिशाको मृत्यु भयो । तुलबहादुर थापा, श्रीमती मिना, नाति सम्राट र बिनिसाको ज्यान गयो । माइत आएकी तुलबहादुरकै छोरी दिर्पा र मामा घरमा पुगेका नाति बिवेक पनि पहिरोमा परेर नफर्कने गरि गएका छन ।
पहिरोमा आमा बाबु र आफैले जन्माएका छोरा र छोरी तथा बहिनी र भाञ्जा गुमाएका मृतक तुलबहादुर थापाका छोरा अमरबहादुर पनि रोएरै दिन बिताउनुभएको छ। न पालन पोषण गर्ने आमाबाबु रहे न जन्माएका छोराछोरी नै जीवनमा यस्तो बज्रपात कसैलाई नपरोस् ।

अमरकी श्रीमती दिनभर सासु ससुरा संगै बारीमा कोदो रोपेर पसल चलाएको घरमा आउनुभएको थियो । छोरा सम्राट र छोरी बिबिशा हजुरबा आमा संगै बसेका थिए । आफु र श्रीमती घरभन्दा दुई सय मिटर टाढा रहेको पसलमा रहेकाले बाँचन सफल भएको उहाँले बताउनुभयो । ‘एक घण्टा अघि सम्म सबै संगै थिए, एक घण्टापछि छ जना नै नफर्कने गरि गए’ उहाँले भन्नुभयो ‘यस्तो बिपत्ती कसैलाई पनि नपरोस’ सामान्यतया असारको दोस्रो साता सम्म बर्षाका कारण बाढी र पहिरोको उच्च जोखिमको कल्पना पनि गरिन्न । जेठको अन्तिम र असारको पहिलो साता त खासै बर्षा पनि बढीइ नहुने गरेको अनुभव गर्छन सबैले।


तर जेठ ३१ गते राती यो गाउँमा गाग्री घोप्टाए जसरी आकाश बर्षिन थाल्यो । साँझ ६ बजे खान पकाउने र बारीबाट फर्केर गोठमा बस्तुभाउको रेखदेख गर्न थालेका कृषकहरु कति खान खाएर सुत्ने तरखरमा थिए भने केटाकेटीलाई खाना खुवाएर केही परिवारका अगुवाहरु खान खाने सुरसार गर्दै थिए । कल्पना पनि नगरेको पानी परेपछि पहिरोको जोखिम भएका ठाउँमा मानिसहरु सतर्क थिए तर ढकालबारी र काउले गाउँमा पहिरोको बढी जोखिम नभएकाले ढुक्क थिए तर दुर्भाग्य त्यही गाउँमा पहिरो आयो ।

पहिरो आएर दुई घरलाई बगाउन पुग्यो र घर संगै सिंगो परिवारका सदस्यहरु कहिल्यै नर्फकने गरि दैबले चुँडेर लग्यो । कतिपय परिवार अहिले घरमा बसेका छैनन । आफन्त र बिद्यालयको शरणमा बसेकाहरु घर र्फकन डराइरहेका छन । जेठमा गएको पहिरोका कारण देशभरको र बिदेशमा रहेकाहरुको ध्यान तानेको छ । यो पहिरोमा पिडितहरुका लागि राहत र सहयोग आउने क्रम जारी छ । आइतबार तमु समाज युकेले सहयोग हस्तान्तरण गरेको छ । दर्जनौ संस्था र ब्यक्तिगत रुपमा पनि पिडीतका लागि सहयोग भैरहेको छ ।

माइतीमा आउँदा छोरा संगै संसारबाट बिदा भएकी दिर्पाको नाममा अक्षयकोष बनाउने अभियान माइतीगाउँमा चलेको छ । भबिश्यमा यस्ता प्राकृतिक प्रकोप पिडीतहरुका लागि राहात दिने उद्देश्य राखिएकोमा सबैतिरबाट सहयोग आउने क्रम जारी रहेको नवप्रतिभा युवा क्लबका अध्यक्ष बिरोध बिक्रम गुरुङ्गले जानकारी दिनुभयो । अहिले पहिरोमा संरक्षणको काम पनि शुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा पहिरो रोकथाम र त्यसको अध्ययनको काम पनि अघि बढी रहेको छ ।