सरकार रोजगारीको श्रृजना र धान चामल निर्यात गर्ने रणनीतिमा : मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल,बुटवल ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले धानको ब्यवसायिकरणको माध्यमबाट रोजगारीको श्रृजना एवं धान चामल निर्यात गर्ने रणनीति बनाउदै सरकार योजनावद्व रूपमा अघि बढेको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले त्यसका लागि खेतीयोग्य जमिनमा सिंचाइकोे उपलब्धता बढाउदै जाने, उन्नत जातका बिउ बिजन र मलखाद किसानलाई सहज रूपमा उपलब्ध गराउने एवं यान्त्रिकरणमा जोड दिने नीति लिएको जनाउनु भएको छ ।

राष्ट्रिय धान दिवस – २०७७ को अवसरमा सोमवार शुभकामना सन्देश जारि गदै मुख्यमन्त्री पोखरेलले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक रहेको बताउनु भएको छ ।

धानको उत्पादकत्व र उत्पादन बृद्वि गरि समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय लक्ष्य हाशिल गर्न सबैको सार्थक सक्रियताका लागि मुख्यमन्त्री पोखरेलले अपील गर्नुभएको छ । राष्ट्रिय अर्थतन्त्रलाई चलायमान वनाउन र रोजगारीको सुनिश्चितताका लागि धान नेपालको प्रमुख वाली हो भन्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा धान अनिवार्य रहेको उल्लेख गर्नुभएको छ ।

उहांले कोभिड–१९ महामारिले अर्थतन्त्रमा परेको नकारात्मक असरहरू कम गर्न उत्पादन बृद्विबाट सम्भव रहेको जनाउनुभएको छ ।नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा गरिने धान खेतीको कृषिबाट प्राप्त हुने कुल ग्राहस्थ उत्पादनमा २० प्रतिशत योगदान रहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नु भएको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढि रहेको तथ्यांक छ भन्दै धान उत्पादनमा ५ नं. प्रदेश पहिलो स्थानमा रहेको उल्लेख गर्नु भएकोे छ ।