हेटौंडामा कोरोना परीक्षण अन्यौलमा,परीक्षणप्रति प्राविधिक नै असन्तुष्ट

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

कोरोनाको संक्रमण फैलँदै गएपछि आफू विवादबाट बच्न नेपाल सरकारले नेपाली सेनामार्फत् चीनबाट स्वास्थ्य सामग्री किन्यो । तर, सेनाले जीटुजीमार्फत् खरिद गरेर ल्याएको स्वास्थ्य सामग्री कमसल भएकै कारण कोरोना परीक्षणमा अन्यौलता उत्पन्न भएको दाबी गरिएको छ ।

पीसीआर परीक्षणको दायरा बढाउने भन्दै सेनामार्फत् सरकारले कीट खरिद गरेको थियो । तर, ल्याइएका नयाँ कीटबाट कोरोना संक्रमण भए÷नभएको परीक्षण गर्नै समस्या परेको छ । सेनाले हालै ल्याएको पीसीआर रिएजेन्ट कीट हाल नेपालको प्रयोगशालामा प्रयोग भइरहेको भन्दा फरक रहेका कारण प्रयोगमा समस्या भएको सम्बन्धित प्राविधिकको भनाइ आएको हो ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको कीटको नतिजा विश्वसनीय नभएको हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्राविधिकले दाबी गरेका छन् । नयाँ कीट र केमिकल प्रयोग नगर्न आग्रह गरिएपछि हाल पुरानै केमिकल प्रयोग गरी परीक्षण भइरहेको यहाँका प्राविधिकले बताएका छन् ।

सेनाले ल्याएको कीट प्रयोग गरी परीक्षण गर्दा नतिजा फरक आउने गरेको उनीहरुको गुनासो छ । एक प्राविधिकले यसबारे सञ्चारमाध्यममा बोल्दा मन्त्रालयले ‘कारबाही गर्ने’ डरले आफूहरु खुलेर बोल्न नसकेको बताउँछन् ।‘रिएजेन्ट र कीटको एड्जस्टमेन्ट नहुँदा दोहो¥याएर परीक्षण गर्नुपरेको, गलत रिपार्ट दिएको र परीक्षणमा ढिलाइ हुने गरेको गुनासो प्रयोगशालामा काम गर्ने प्राविधिक साथीहरुले भन्दै आउनुभएको छ,’ हेटौंडाका स्वास्थ्यकर्मी भोला चौलागाईं भन्नुहुन्छ–विभिन्न साइजका भीटीएम प्राप्त हुने र त्यसको गुणस्तर के हुने भन्ने चिन्ताले पनि प्राविधिकलाई सताएको छ ।

बाहिरी आँखाले हेर्दैमा कोरोना थाहा हुने नभएकोले परीक्षण नै गर्नुपर्दा प्राविधिकलाई समस्या पर्दै आएको उहाँले बताउनुभयो । गुणस्तरीय कीट र केमिकल नभएका कारण कोरोना भाइरस परीक्षणको नतिजा नै फरक आउने परिस्थितिले एकातिर संक्रमण समुदायमा फैलने खतरा त छँदैछ भने अर्कोतिर संक्रमण नै नभएकाहरु १४ दिन आइसोलेसनमा बस्नुपर्ने बाध्यात्मक अबस्था सिर्जना भएको देखिन्छ ।

केही समयअघि ल्याइएको २८ हजार पीसीआर कीट नेपालमा भइरहेको कोभिड–१९ परीक्षणमा मेल नखाने र फरक किसिमको रहेको पाइएपछि त्यत्तिकै थन्किएको छ । लामो समयसम्म रोकिएका र एक स्थानमा संकलन गरिएका स्वाब अर्को स्थानमा लगेर उक्त कीटबाट परीक्षण गर्न नमिल्ने प्राविधिक बताउँछन् ।

हाल नेपालमा थ्री एमएल भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) बाट स्वाब संकलन भइरहेको छ । तर, सेनाले खरिद गरेको कीट वान एमएल भीटीएममा मात्र प्रयोग हुने र यो थ्री एमएल भीटीएमभन्दा कम गुणस्तरको रहेको यहाँका स्वास्थ्यकर्मी बताउँछन् ।
सेनाले चीनको सानस्योर कम्पनीबाट नेपालमा प्रयोग गर्नै नमिल्ने कीट ल्याएको दाबी गरिएको छ ।

सेनाले ल्याएको भीटीएम र एक्स्ट्रयाक्सन कीट दुईदेखि आठ डिग्री सेन्टिग्रेटमा राख्नुपर्छ । तर, हाल देशभर प्रयोगमा रहेका थ्री एमएलका भीटीएम कोठाको सामान्य तापक्रममा राख्न सकिने खालको छ । अस्पतालमै स्वाब संकलन र छोटो समयमा नै परीक्षण गर्दा यो कीटमा खासै समस्या छैन, तर बाहिरबाट पठाइएका स्वाब परीक्षण गर्दा भने समस्या परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालका २३ वटा ल्याबमध्ये केहीमा भीटीएम रिएजेन्ट प्रयोगमा आउने र केहीमा नआउने खालको भएको हो । तर, मन्त्रालयले प्रयोगमा आउने ल्याबमा मात्र उक्त रिएजेन्ट पठाइएको छ ।
हाल २३ वटा ल्याब खुलेका छन् भने परीक्षणलाई तीव्र बनाउँदै लैजान थप १० वटा केही दिनमै सुचारु गरिने भएको छ ।

नयाँ बिस्तारित ल्याबमा समेत नेपाली सेनाद्वारा खरिद गरिएका रिएजेन्ट भीटीएम प्रयोगमा ल्याउने गरी मन्त्रालयले काम अघि बढाएको छ । ‘यो मेसिनअनुसार फरक परेको हो, सामग्री नराम्रो होइन,’ उहाँले भन्नुभयो ।हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार दुई जिल्लाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा गुल्मीका २० पुरुष र पर्साका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।आइतबार नेपालमा ४ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । आइतबार १ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । डिस्चार्ज हुनेमा १३ महिला र १ सय ६६ पुरुष छन् । हालसम्म ३ हजार १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।