गाईलाई बचाउँदा कार दुर्घटना : गायक तथा पत्रकार पाण्डेको मृत्यु

0
Shares

यमलाल भुसाल,बुटवल ।

कार दुर्घटनामा परी रुपन्देहीमा पत्रकार तथा कलाकारको मृत्यु भएको छ । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा शनिवारराति करिव १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो ।

आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

उनको शव पोष्टमार्टम गरि आईतवार नै स्थायी घर स्याडजा लगिएको छ ।सडकमा गाई आएको र गाईलाई बचाउन खोज्दा कार डिभाईडरमा ठोकिएको स्थानियले बताएका छन । डिभाइडर र ठोक्किएको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पत्रकारितामा आउनुअघि पाण्डे म्युजिक भिडियोमा अभिनय र संगीत कर्ममा सक्रिय थिए ।

उनले बजारमा ल्याएको तीज गीत ‘भंगेरी चरीले’ लोकप्रिय भएको थियो । नेपाल पत्रकार महासंघ रुपन्देही ,नेपाल प्रेस युनियन रुपन्देही र तिलोत्तमा मिडिया क्लवले विज्ञप्ति जारी गरि न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार कृष्ण पाण्डेको यही असार १३ गते राति सवारी दुर्घटनामा घाइते भई उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा भएको असामयिक निधनले मर्माहत तुल्याएको उल्लेख गरिएको छ ।

पत्रकारिता क्षेत्रमा पाण्डेले खेलेको सक्रियता र भूमिका अत्यन्त प्रशंसायोग्य रहेको र पत्रकारिता क्षेत्रको दौरान समाजमा पु¥याएको योगदान समेत अतुलनीय रहेको उल्लेख गरिएको छ । उहाँको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाईएको छ । पाण्डेको निधनको यस दुःखदपूर्ण घडीमा स्वर्गीय पाण्डेप्रति हार्दिक श्रदाञ्जली व्यक्ति गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।