‘कल्याणकारी कोष’ बनाउन जुट्दै कलाकार

0
Shares

काठमाडौँ । ललितकला क्षेत्रका कलाकारहरु ‘ललितकला कल्याणकारी कोष’ स्थापनामा जुटेका छन् । मुलुकमा नियमितरुपमा ललितकलाका गतिविधि सञ्चालन गरेर कला सिर्जनाको माध्यमबाट राष्ट्रिय महत्वका विषयलाई विश्वमाझ पु¥याउन अग्रणी भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको अगुवाइमा कलाकार कल्याणकारी काममा लागेका छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण राम्ररी गतिविधि सञ्चालन गर्न नपाए पनि घरमै बसेर कला सिर्जना गरी भर्चुअल प्रदर्शनी गरिरहेका उनीहरु यसपालि भने आफ्नै सामाजिक सुरक्षालाई ध्यानमा राखेर कोष स्थापनामा लागेको समाजका अध्यक्ष एनवी गुरुङले जानकारी दिनुभयो ।

उक्त कोषमार्फत नेपाली कला क्षेत्रको विकास र प्रवद्र्धनमा लामो समयदेखि कलाक्षेत्रको श्रीवृद्धिमा योगदान गर्दै आएका कलाकार तथा विभिन्न कारणले अति समस्यामा परेका ललितकलाकर्मीलाई आवश्यक सहयोग गरिने उहाँले बताउनुभयो ।

शुक्रबार कोष स्थापनाको घोषणासँगै धेरै कलाकारले रकम सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । कोषमा रु १० लाख जम्मा गर्ने योजना छ । पहिलो चरणमा रु तीन लाख रकम जग्गा गरिनेछ । कोषका लागि आजसम्म ३५ जना कलाकारबाट रु एक लाख सहयोगको प्रतिबद्धता आइसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

पहिलो चरणमा कलाकारबाट स्वेच्छिकरुपमा र कला प्रदर्शनीबाट रकम जम्मा गरिने र दोस्रो चरणमा भने विभिन्न संस्थाबाट समेत सहयोग लिइने जनाइएको छ । यसअघि पनि केही कलाकारले कोष स्थापनाको पहल गरेका थिए, तर त्यसले मूर्त रुप लिन सकेको थिएन । यसपटक भने जसरी पनि योजना सफल पार्ने समाजले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको जलरङ महोत्सव गर्दै आएको समाजले विभिन्न सामाजिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । यसपटक कोष स्थापनाको अगुवाइ गरेर महत्वपूर्ण कामको थालनी गरेको भन्दै कलाकर्मीले समाजको प्रशंसा गरेका छन् । कोषको रकम भने आम कलाकर्मीको हितमा परिचालन हुने जनाइएको छ ।