उपत्यकामा सफाइ अभियानले पुनः गति लिँदै

0
Shares

काठमाडौँ ।कोरोना भाइरसको सङ्क्रमण फैलने डरसँगै असारे झरीका बीच वाग्मती सफाइ अभियानकर्मी भने बिहानै नदी किनारमा देखिए । वाग्मती सफाइ महाअभियानको ३७२औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रस्थित आर्यघाटको नदी किनारमा अभियानकर्मी एवं अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सात जनाको समूहले सफाइ गरेको छ । पशुपति क्षेत्रको आर्यघाटको नदी किनारमा विगत हप्तामा भन्दा कमै फोहर भेटिएको जनाइएको छ । पशुपति क्षेत्रका सबै स्थानमा सफाइलाई महत्व दिनुपर्ने देखिएको पनि उहाँले बताउनुभयो ।

शङ्खमूलको वाग्मती र मनोहरा नदीको दोभान क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरियो । सफाइमा जीवन योग प्रयोगशाला संयुक्त राष्ट्र सङ्घीय उद्यान (युएन पार्क) का रामप्रसाद पन्थी, हनुमान मार्ग टोल विकास समितिका पदाधिकारीलगायत स्थानीयवासीले त्यस क्षेत्रमा जम्मा भएको झारपातलगायत फोहर उठाई कुहिने र नकुहिने फोहरसमेत छुट्याएर व्यवस्थापन गरिएको थियो ।

विष्णुमती सफाइ अभियानको ३००औँ हप्तामा टोखा नगरपालिका–९ आनन्दटोलको सडक, सडक पेटी र नाली क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा नेपाल प्रहरीसहित अभियानकर्मी गरी २० जनाको सहभागिता रहेको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो ।

बन्दाबन्दी शुरु भएपछि चक्रपथको उत्तरी क्षेत्रमा आज पहिलोपटक सफाइ गरिएको छ । यातायात र मानिसको चाप नभएकाले सडक किनारमा फोहर कम देखिएको, भएको केही फोहर पनि लामो हुँदै गएको घाँस छोपिन लागेकाले त्यसलाई हटाइएको अभियानकर्मी लोकबहादुर टन्डनले जानकारी दिनुभयो ।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ६९औँ हप्तामा अभियानकर्मीले नदी किनारमा आफूलाई अनुकूल हुने स्थानमा सफाइ गरेका छन् । सबै अभियानकर्मी एकै ठाउँमा जम्मा हुँदा कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले विकेन्द्रित रुपमा सफाइ अभियानलाई निरन्तरता दिइएको संयोजक बेबी राजभण्डारीले बताउनुभयो ।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान झरी, जाडो, चाड पर्वमा पनि निरन्तर जारी छ । चैत ११ गते बन्दाबन्दी शुरु भएपछि भने १५ गते नदी किनारमा सफाइ गर्न नसके पनि टोलटोलमा अभियानकर्मीले सफाइ गरेका थिए । त्यसपछिका शनिबार भने नदी किनारमा निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिँदै आएका छन् ।

बन्दाबन्दी हुनुअघिसम्म वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई देशभर १०६ स्थानमा सफा हुन थालेको छ । नदी किनारमा जान नसक्ने अभियानकर्मीले भने अहिले पनि टोल सफाइ अभियानलाई निरन्तरता दिइरहेका छन् । आजदेखि चक्रपथको उत्तरी खण्ड र विष्णुमती सफाइ अभियानले पनि पुनः निरन्तरता पाएको जनाइएको छ ।