झाडापखाला रोकथामका लागि नेपालमा रोटा खोप भित्रियो

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

अब नेपालमा पनि भित्रियो झाडापखाला बिरुद्धको रोटा खोप । बालबालिका रोटा भाईरसका कारण झाडा पखाला हुने हुनाले पोलियो थोपा जस्तै मुखबाट दिईने रोटा खोप नेपालमा पहिलोपटक यहि असार देखि शुरु गर्न लागिएको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

शाखा प्रमुख डा.झलक शर्मा गौतमका अनुसार बर्षेनी ३ लाख ५० हजारका हाराहारीमा झाडापखालाका कारण बालबालिकाहरु प्रभावित हुने गरेका छन् । यसको न्यूनीकरणका लागि खोप प्रदेशमा पठाईसकिएको छ र जिल्लामा पुग्नासाथै प्रयोगमा ल्याउने तयारी भैरहेको छ ।

यो खोप बालबालिकालाई झाडापखालाबाट जोगाउनका लागि लगाईने भएकाले बच्चा जन्मेको ६ हप्तामा पहिलो पटक र १० औं हप्तामा दोस्रो पटक दिईन्छ ।अब पाँच बर्ष मुनीका बालबालिकालाई झाडापखालाबाट जोगाउनका लागि यो खोप थप गरिएको महाशाखाले जनाएको छ ।

नेपाल सरकारले यस अघि बर्षेनी ३ अर्बको हाराहारीमा खर्च गरि क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार, हेपाटाइटिस ‘बि’, हेमोफिलस इन्फ्ल्युएन्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज न्सेफलाइटिसविरुद्धको खोप तथा गर्भवती महिलाका लागि धनुष्टंकार र भ्यागुते रोगविरुद्धको टिडी खोप निःशुल्क उपलब्ध गराउँदै आएको थियो भने अब रोटा खोप पनि नियमित खोपका रुपमा थपिने भएको छ । यो समेत नेपाल सरकारले १२ वटा खोप निःशुल्क प्रदान गर्नेछ ।