इस्लामाबादमा पहिलो हिन्दु मन्दिरको शिलान्यास


इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको राजधानी इस्लामाबादमा पहिलो हिन्दु निर्माण हुने भएको छ । मंगलबार शिलान्यास भएको उक्त मन्दिर बनाउन १० करोड पाकिस्तानी रुपैया खर्च गरिने छ ।
भगवान कृष्णको यो मन्दिर इस्लामाबादको एच ९ इलाकामा २० हजार वर्गफुटको भुभागमा बन्न लागेको हो । मंगलबार पाकिस्तानको मानवाधिकारका संसदिय सचिव लाल चन्द्र माह्लीले मन्दिरको आधारशिला राखेको हो ।
सन् १९४७ भन्दा अघि इस्लामाबाद र त्यो सँग जोडिएका इलाकामा कयौं हिन्ुदु मन्दिर भएको माह्लीले बताए । यसमा सैदपुर गाउँ र रावल पोखरी नजिकको मन्दिर पनि पर्छ । यद्यपि त्यसलाई अहिले त्यतिकै बेवारिस अवास्थामा छोडेको छ र कहिल्यै प्रयोग गरिएको छैन । इस्लामाबादमा अल्पसंख्यकको अन्तिम संस्कारका लागि ठाउँ अत्यन्त कम भएकोमा पनि उनले दुख ब्यक्त गरे ।
धार्मिक मामिलाका मन्त्री पीर नुरुल हक कादरीले सरकार यो मन्दिर निर्माणमा हुने १० करोड रुपया खर्च गर्ने जानकारी दिए । मन्दिरका लागि विशेष सहायता दिन प्रधानमन्त्री इमरान खानसँग अपिल गरिएको उनले बताए । इस्लामाबादमा हिन्दु पन्चायतले यो मन्दिरको नाम श्रीकृष्ण मन्दिर राखेको छ । यो मन्दिरका लागि सन् २०१७ मा जमिन उपलब्ध गराइएको थियो ।
केही औपचारिकता पुरा गर्ने क्रममा यो ३ बर्ष ढिलो हुन पुग्यो । यो मन्दिरको परिसरमा एक अन्तिम संस्कार स्थल पनि हुने छ ।