न्युज अफ नेपाल, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । मन्त्री परिषद्को बैठकले कोभिड–१९को कारण यो वर्ष स्थगित एसईई परीक्षाको अन्तिम मुल्याङकन विद्यालयबाट गर्ने निर्णय गरेपछि बोर्डले सदस्य सचिव अर्यालको संयोजकत्वमा तीन सदस्य समिति बनाएको थियो ।
समितिले अन्तिम मुल्याङकनको कार्यविधि तयार गरिरहेको छ । कार्यविधिमा ऐनमा उल्लेख भएअनुसार पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र अन्तिम परीक्षाको ६० प्रतिशत मुल्याङकनको आधारमा प्राप्ताङक दिन उपयुक्त हुनेगरी कार्यविधि तयारी गरेको छ । कार्यविधिमा पाठ्यक्रम बाहेक मुल्याङकन गर्न नमिल्ने गरी तयारी भैरहेको छ ।
सरकारले सेन्टअप परीक्षा नलिन निर्देशन दिएपछि कसरी मुल्याङकन गर्ने ? भन्ने विषयमा अन्योलमा रहेका अवस्थामा विद्यालयले त्रैमासिक परीक्षाको आधारमा अन्तिम मुल्याङकन गर्नेगरी तयारी भैरहेको छ ।
स्रोतका अनुसार अन्तिम परीक्षा नलिएका विद्यालयमा कसरी मुल्याङकन गर्ने भन्ने विषयमा समस्या देखिने भएको छ । यही अवस्था भए विद्यालयले हचुवाको भरमा नम्बर दिने भएका छन् । बोर्डले मन्त्री परिषद्ले गरेको निर्णयको आधारमा छोटो कार्यविधि बनाउने भएको छ । कार्यविधिमा विद्यार्थीको प्राप्ताङक राख्ने अधिकार प्रधान अध्यापकलाई मात्र नदिएर सानो समिति बनाउन सुझाव दिने भएको छ ।
कार्यविधिमा नम्बर इन्ट्री कस्ले गर्ने ? भन्ने विषयमा निर्णय हुन बाकी छ । समितिले विद्यालय, शिक्षा विकास समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय मध्य कस्ले गर्ने ? भन्ने विषयमा छलफल जारी राखेको छ । समितिले केन्द्रलाई झन्झटिलो हुनेभएपछि नम्बर इन्ट्रिको जिम्मा विद्यालयलाई नै दिने तर्क अघि सारेका छन् ।
बोर्डले बोर्डका सदस्य सर्जन जोशी र एसईई परीक्षा नियन्त्रक रामराज खकुरेल सदस्य रहेको तीन सदस्यीय समिति बनाएको थियो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले कार्यविधि तयार भएपछि सबैलाई जानकारी हुने बताउनुभयो ।
अन्तिम तयारीमा रहेको कार्यविधिमा कसरी टुङग्याउने भन्ने विषयमा अझै निर्णयकै क्रममा रहेको बोर्डको भनाई छ । संयोजक दुर्गा अर्यालले प्रतिवेदन अन्तिम तयारीको क्रममा रहेको बताउनुभयो ।
प्रतिक्रिया