महानगरको कोरोना प्याकेज

 हस्तकला सामग्री खरिद अनिवार्य

350
Shares

न्युज अफ नेपाल, ललितपुर ।

आगामी आर्थिक वर्ष आगामी वर्ष २०७७ / ०७८ बजेटमा कोरोना प्याकेज मार्फत सो नीति ल्याउन लागिएको महानगरपालिकाको विधेयक समितिका संयोजक श्रीगोपाल महर्जनले बताउनुभयो ।

वडा नं ३ का वडाअध्यक्ष समेत रहनुभएका संयोजक महर्जनकै अगुवाईमा विभिन्न समितिहरु सहभागी भएर सो नीति ल्याउन लागिएको हो । ‘लकडाउन हुनु भन्दा ६ महिनादेखि हस्तकला व्यवसाय निकै चौपटमा परेको छ । हस्तकला व्यवसायीहरु पलायन हुने अवस्थामा छन् । तिनलाई थोरै भएपनि राहत दिन सो नीति ल्याइएको हो । ’ संयोजक महर्जनले भन्नुभयो । त्यस संगै ठाउँ ठाउँमा क्रेता र बिक्रेता मेला पनि गरिने छ ।

‘ महानगरपालिकामा अहिले बजेट निर्माण बारे समावेश गर्नुपर्ने विषयमा छलफल भइरहेको छ । छलफलमा कोरोना प्याकेज अन्र्तगत यी विषयमा समावेश गर्नुपर्ने विषयमा नेकपाबाट निर्वाचित वडाअध्यक्षहरुले विशेष सुझाव दिएका छौं । यी विषयहरु समावेश गरेर नीति तथा कार्यक्रम आउने पक्का छ । आशा छ, यसका लागि विरोध जनाउनुपर्ने अवस्था आउने छैन ।’ उहाँले भन्नुभयो । अबको बजेट महानगरपालिकामा जनप्रतिनिधि आएपछिको चौंथो बजेट हो ।

कोरोना महामारीले समग्र अर्थतन्त्र धराशायी भएको बेला महानगरपालिकाले कृषि अनुदान कार्यक्रम पनि ल्याउने  संयोजक महर्जनले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा स्थानीयलाई राहत दिन महानगरपालिकाको आर्थिक समितिले २ करोड बराबरको कृषि अनुदान प्याकेज ल्याएको थियो । कृषि अनुदानका विषयमा नगरवासीबाट सकारात्मक प्रतिक्रिया आएकोले आगामी आर्थिक वर्षमा निरन्तरता दिने विषयमा महानगरपालिकाको सबै समिति सहमत भएको संयोजक महर्जनको भनाई रहेको छ ।

सामूहिक कृषिमा प्रोत्साहन, उत्पादन र बजार व्यवस्थापन गर्ने कार्यक्रम पनि हुने छ । त्यसैगरी स्वरोजगार कोष अन्तर्गत वडामा सहुलियत पसल, हस्तकला प्रदर्शन र योजनामा अत्यावश्यक प्रविधि बाहेक श्रमको प्रयोगलाई बढावा दिने कार्यक्रम ल्याउने पनि संयोजक महर्जनले जानकारी दिनुभयो ।

त्यसैगरी कर छुटको प्याकेज पनि ल्याइएको छ ।आर्थिक वर्ष २०७७/ ०७८ मा महानगरपालिकामा बुझाउनुपर्ने मालपोत, सम्पत्ति, बहाल व्यवसाय करको बक्योैक्तामा १० प्रतिशत छुट मिनाह गरिने छ । चालू आर्थिक वर्षको कर, बक्यौक्ता र त्यसमा लाग्ने जरिवानाको १० प्रतिशत छुट गरिने पनि संयोजक महर्जनले बताउनुभयो ।

त्यसैगरी पाटन अस्पतालमा पीसिआर परीक्षण केन्द्र स्थापना गरिने छ । विदेश वा विभिन्न जिल्लाबाट आउने मानिसहरुको लागि राख्न होल्डिङ सेन्टर स्थापना गर्ने कार्य पनि समावेश गरिएको छ ।

कोरोनाका कारण आगामी आर्थिक वर्षको बजेट आकार विगतको तुलनामा ३० प्रतिशतले कमी आउने बताइएको छ । विगतमा पनि नेकपाबाट निर्वाचित वडाअध्यक्षहरुले १० बुँदे संशोधन प्रस्ताव राखेका थिए । ती प्रस्तावका अधिकाशं बुँदाहरु कार्यान्वयन भएको पनि महर्जनको दाबी रहेको छ ।