तराईमा मूल्यवृद्धि उच्च

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ८३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७६/७७ को दश महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ’मा उक्त कुरा उल्लेख गरिएको हो ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव २९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८ दशमलव ६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । त्यस्तै काठमाडौं उपत्यकामा ५ दशमलव ७१ प्रतिशत, तराईमा ६ दशमलव ३५ प्रतिशत, पहाडमा ५ दशमलव ११ प्रतिशत र हिमालमा ५ दशमलव १९ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७६ वैशाखमा यी क्षेत्रमा क्रमशः ६ दशमलव शून्य ५ प्रतिशत, ४ दशमलव ९४ प्रतिशत, ४ दशमलव ९५ प्रतिशत र ६ दशमलव१३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।