नेपाल रेडक्रसको महाधिवेशन असार अन्तिम साता

0
Shares

  • भगवती तिमल्सिना,काठमाडौं ।

नेपाल रेडक्रस सोसाईटी (नेरेसो)को ४८ औं महाधिवेशन यहि असार मसान्ता सम्म गर्ने निर्णय भएको छ । यस अघि २०७७ जेठ ३० गतेदेखि ३२ गतेसम्मका लागि नेरेसोको ४८ औ महाधिवेशन बोलाइएको थियो । नेपालमा कोरोना संक्रमण न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीको कारण असारको अन्तिम सातालाई अर्को मिति तोकिएको नेरेसो केन्द्रीय कार्यालयले जनाएको छ ।

जेठ २७ गते बसेको नेरेसोको केन्द्रीय कार्यसमितिले असार २५ देखि २७ गतेसम्म केन्द्रीय सभाको ४८ औँ अधिवेशन काठमाण्डौँ उपत्यकाभित्र हुने गरीे अर्को मिति तोक्न अध्यक्ष संजीव थापबाट यस अघि गरिएको निर्णयलाई अनुमोदन गरेको नेरेसोले जनाएको छ ।

यस निर्णय संगै नेरेसोको विधानको दफा ६७ बमोजिम केन्द्रीय कार्यसमितिको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिले तीन महिना भित्र निर्वाचन हुने गरी एक भन्दा बढी पटक पनि मिति तोक्न सक्ने व्याख्या गरेको छ ।

साथै, यदि बन्दाबन्दीको कारण सभा सम्मेलन असारमा पनि खुला नभएमा र केन्द्रीय कार्यसमितिको बैधता कायम राख्न बाधा परेमा मौजुदा विधानको दफा ६८ बमोजिम बन्दाबन्दी फुकुवा भई सभा सम्मेलन गर्न खुला भएको मितिले ३० दिन भित्र निर्वाचन सहितको केकासको महाधिवेशन बर्तमान कार्यसमितिले नै सम्पन्न गर्ने गरी संस्थागत बाधा अड्काऊ फुकाउने निर्णय समेत गरेको जानकारी गराईयो ।

यस सन्दर्भमा आगामी महाधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न कुनै कानुनी बाधा आएमा कानुनी उपचारमा जान पनि छलफल र निर्णय गरिएको छ ।

स्मरणीय छ, २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आव्हान गरिएको ४८ औँ महाधिवेशनको सम्पूर्ण तयारी भै सकेको र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आकस्मिक रूपमा वैशाख २२ मितिको जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनात्मक पत्र आइपुगी संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित भएको थियो । त्यस पछि विभिन्न कारणले महाधिवेशन र निर्वाचन हुन सकेको छैन ।

विद्युतीय बैठकलाई पनि आधिकारिक मानिने :

बन्दाबन्दी अवस्था, भविश्यमा आइपर्नसक्ने विषम विपदको अवस्था र अन्य कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएर केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु बैठकको लागि स्वयं उपस्थित हुन नसक्ने अवस्थामा विद्युतीय सम्पर्क माध्यमबाट बैठक बस्न सकिने र त्यस्तो बैठकले गरेको निर्णय केकासको भौतिक उपस्थिति भएको बैठक सरह मान्य हुने निर्णय गरिएको छ ।

यसका साथै विद्युतीय निर्वाचनको संभावना अध्ययन गरी सुझाव दिन उपमहामन्त्री हरि प्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिलाई पनि क्रियाशिल बनाइएको छ । ”फाइदा पक्ष, अवसर र चुनौतिलाई हेरेर हामीले विद्युतीय निर्वाचनको बारेमा छिटै निर्णय गर्नेछौँ ।” उपमहामन्त्री हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

कोभिड १९ को प्रतिकार्यमा अग्रपंतिमा

नेपाल रेडक्रसमार्फत कोभिड प्रतिकार्य गतिविधि देशैभरी सञ्चालन गरिएको छ । भारतलगायतका मुलुकबाट नेपाल फर्कने नेपालीहरुलाई लक्षित गरी नेपाल प्रवेशद्धारहरु, जिल्लाहरुका होल्डिङ सेन्टरहरुमा नेरेसोका स्वयंसेवकहरुले सहयोग गरिरहेका छन् । त्यस्तै समुदायमा सेवा पुर्याइएको छ ।

सो अन्तरर्गत २ लाख ७१ हजार ९ सय मानिसलाई व्यक्तिगत शुरक्षा सामग्री वितरण, ६ सय २७ जनालाई मनोबैज्ञानिक सहयोग, २ सय ४२ एम्बुलेन्स सञ्चालन, ६ हजार ६ सय ५० जनालाई हातधुने कक्षा सञ्चालन भएका छन् ।

त्यस्तै क्वारेन्टाइन सहयोग अन्तरगत १३ हजार ३ सय १० कम्बल, एकहजार नौसय ६३ त्रिपाल र ३ सय ९३ टेन्ट, ३ हजार २ सय झुल वितरण गरिएको छ । ८ सय ७० तन्ना र एकहजार सातसय चार गुन्द्री उपलव्ध गराइएको छ ।

साथै, लकडाउनले अफ्टेरो पारेका १७ हजार ९ सय मानिसहरुलाई खानाको व्यवस्था गरेको छ । निशुल्क कल सेन्टर ११३० सञ्चालनमा ल्याइएको छ र १२८ वटा सचेतनामूलक रेडियो कार्यक्रम बजाइएको छ । यसरी स्वास्थ्य तथा सेवा, आवास, पानी, सरसफाइ तथा स्वच्छता, जोखिमका बारेमा सञ्चार÷सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैंगिकता र समावेशीकरण क्षेत्रमा संस्थाले नेपाल सरकार र सरोकारवालासँग मिलेर कार्य गरिरहेको छ ।

भोजपुरको अरुण गाउपालिकामा स्थापित होल्डिङ एरिया । जिल्लामा प्रवेश गर्ने सवै मानिसहरुलाई लेगुवाघाटबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । १ सय १५ जनालाई राख्न सकिने यो होल्डिङ एरिया बनाउन र सञ्चालन गर्न नेपाली सेना,नेपाल प्रहरी, प्रशासन, नेपाल रेडक्रस र स्थानीय पालिकाहरु मिलेर कार्य गरिरहेका छन् ।

१५ दिन अघि स्थापित यो होल्डिङ एरिया निर्माणको लागि नेपाल रेडक्रस सोसाईटी भोजपुर शाखाले १ सय ५० थान पाल, १ सय थान कम्वलसंगै पानी व्यवस्थापनमा समेत सहयोग गरेको छ । यसैगरी यस सम्वन्धि व्यवस्थापन तथा रिपोर्ट तयार गर्न सचिवालयको जिम्मेवारी पनि नेरेसोले लिएको छ । अहिलेसम्म ७० जना यो सेन्टरमा बसिसकेका छन् ।