पर्वतमा दुर्घटनामा परेका युवालाई अस्पतालबाट संक्रमण नभएको पुष्टि

युवाको सम्पर्कमा भएकाको पिसिआर टेष्ट थालियो

0
Shares

  • दुर्गाप्रसाद शर्मा,पर्वत

पर्वतको कुस्मा नगरपालिका ३ आम्बोटका युवालाई मणिपाल शिक्षण अस्पताल पोखरामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । दुर्घटनामा परेर दुई हप्ता अघि उपचारका लागि अस्पतालमा भर्ना भएका ३५ बर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचारमा संलग्न ७६ जना स्वास्थ्यकर्मीहरुमा संक्रमण पुष्टि नभएको हो ।

अस्पतालबाट कोरोना संक्रमण भएको पुष्टि नभएपछि पर्वतमा युवाको सम्पर्कमा रहेका ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्न थालिएको छ । युवकको उपचारमा खटिएका सबैको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालबाट कोरोना नसरेको मणिपाल शिक्षण अस्पतालले बिज्ञप्ती प्रकाशित गरेर पुष्टि गरेको हो ।

मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका लागि पोखरा ल्याइएका उनको उपचारमा संलग्न ७६ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सिइओ एवं प्राचार्य डा. डिसी अग्रवालले जानकारी दिनुभएको छ । ‘संक्रमण पुष्टि भएलगत्तै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइकर्मी लगायत ७६ जनाको स्वाब पठाएका थियौं ।’ उहाँले भन्नुभयो ‘परिक्षणमा सबैको नेगेटिभ आएका कारण अस्पतालबाट संक्रमण नभएको पुष्टि भएको छ ।’ उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरु अहिले पनि क्वारेन्टाइनमा हुनुहुन्छ ।

कुनै ट्राभल हिस्ट्री नभएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाटै कोरोना सरेको अनुमान गरिएको थियो । २१ जेठमा मोटरसाइकल दुर्घटनामा परेर उपचारका लागि पोखरा ल्याइएका युवकमा ३० जेठमा कोरोना पुष्टि भएको थियो । संक्रमितको टाउकोमा चोट लागेको र जीवन रक्षक शल्यक्रिया गर्दा अस्पतालको न्यूरोसर्जरी टिमले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएको अस्पतालले जनाएको छ ।

संक्रमितको हाडजोर्नी सम्बन्धी शल्यक्रिया गर्नुअघि पिसिआर परीक्षण गर्न २५ जेठमा स्वाब परक्षिणका लागि पठाइएकोमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । यसैबिच अस्पतालबाट कोरोना संक्रमण पुष्टि नभएपछि युवाको सम्पर्कमा भएका ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्ग सुरु गरिएको छ । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमको नेतृत्वमा पुगेको स्वास्थ्यकर्मीको टोलीले ११ जना परिवारका सदस्य र सम्पर्कमा भएका ब्यक्तिको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको हो ।

यस अघि संक्रमण पुष्टि भएपछि युवाको सम्पर्कमा रहेका मानिसको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा आरडिटी परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएको थियो । यृवामा कोरोना संक्रमण देखिएपछि समुदायमा समेत कोरोना फैलिएको हुन सक्ने आशंकामा परिवारका सदस्य र सम्पर्कका ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ शुरु गरिएको थियो ।

अहिले फेरी अस्पतालमा संक्रमण पुष्टि नभएपछि फेरी समुदाय तर्फ नै कन्ट्रयाक्ट टे«सिङ्ग गर्न थालिएको छ । अहिले श्रीमती, छोराछोरी, भाउजु, भतिजा भतिजीको समेत श्वास संकलन गरिएको छ । यस्तै घाइते भएपछि अस्पताल पु ¥याएको ट्याक्सी चालक, उनलाई ट्याक्सीमा राख्ने र सहयोग गर्ने प्रहरी सम्मको स्वास्ब लिने काम सकिएको प्रमुख डा. गौतमले बताउनुभयो ।

जेठ १७ गते देखि दुर्घटना भए सम्मको अवधीमा प्रत्यक्ष सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको थियो । प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिको रिर्पोट नेगेटिभ आएमा उनलाई संक्रमण कसरी भयो भन्ने कुरा अन्यौलमा पर्ने स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. गौतमको भनाई छ ।

‘अस्पताल देखि समुदाय सम्म सबैको पिसिआर परिक्षण गरेपछि संक्रमण कहाँबाट भएको हो भन्ने पुष्टि हुन्छ।’ उहाँले भन्नुभयो ‘अस्पतालमा भेटिएन, अब समुदाय र सम्पर्कका ब्यक्तिको रिर्पोट अनुसार थप अघि बढ्नुपर्छ । आरडिटी परिक्षणका क्रममा रिर्पोट नेगेटिभ आएपनि सबैलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको र धेरैले पालना गरेको देखिएको डा. गौतमको भनाई छ।