सडकको बीचमा बिजुलीको पोल !

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मानिसको आवश्यकताअनुसार विकास निरन्तर हुने सामान्य प्रक्रिया हो । तर, यही सामान्य प्रक्रियामा गरिने केही प्राविधिक गडबडी र बजेट सक्ने हतारोले यसलाई अनुचित र प्रयोगमा असहज बनाइदिने गर्दछ ।

हेटौंडामा बेलाबेलामा देखिने यस्तै दृष्यमध्ये पछिल्लो समय बसामाडीको सडक स्ल्याब ढलान पनि देखिएको छ । जहाँ सडकको बीचमा बिजुलीको पोल राखेर स्ल्याब ढलान गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३, बसामाडीको लेबट क्षेत्रबाट जमुचौतारा जाने सडकको बीचमा बिजुलीको पोल पारेर ४ मिटर चौडाईंको करिब ४ सय ५० मिटर लामो स्ल्याब ढलान गरिएपछि स्थानीय उपभोक्ता निराशमात्र छैनन्, आक्रोशित देखिएका छन् ।

आर्थिक वर्षको करिब अन्त्यतिर बजेट सकाउने चटारोले गरिएको यस्तो स्ल्याब ढलानले स्थानीय आक्रोशित बनेका हुन् । प्रदेश सरकारबाट सडक स्ल्याब ढलानका लागि उपलब्ध ३० लाख रुपियाँले जेठभित्र काम सक्नुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणले पोल तत्काल स्थानान्तरण नगरेपछि पोललाई बीचमा पारेर सडक स्ल्याब ढलान गरिएको हो ।

प्राधिकरणले ११ हजार भोल्टको तार टाँगिएको पोल भएका कारण तत्काल स्थानान्तरण गर्न नसकिने जानकारी दिएको थियो ।समस्याबारे प्राधिकरण तथा हेटौंडा उपमहानगरपालिकालाई जानकारी दिए पनि कुनै क्षेत्रबाट चासो नदिइएको उपभोक्ता समितिका पदाधिकारीको दाबी छ ।

स्ल्याब गरिएको उक्त सडकबाट चारपांग्रे सवारी गुड्न सक्ने स्थान छैन । एम्बुलेन्स र दमकल गुड्न मिल्ने स्थान ढलानमा छैन । मोटरसाइकल बल्लबल्ल चलाउन सकिनेमात्र स्थान छ ।

‘एउटा पोलका कारण बजेट फिर्ता जाने भएपछि सडक यसरी निर्माण गर्नुपरेको हो,’ सडक निर्माण समिति सचिव चण्डिका न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो–गाउँमा आएको विकास बजेटलाई फिर्ता गर्न नहुने सहमतिपछि सडक यसरी निर्माण गरिएको हो । बीचमा बिजुलीको पोल पर्ने भएपछि डिभाइडर राखेर सडक स्ल्याब ढलान गर्न सकिने अबस्थालाई नजरअन्दाज गर्दै स्ल्याब ढलान गरिएको छ ।