म्याच फिक्सिङका आरोपित सबै खेलाडीले पाए सर्वोच्चबाट सफाई

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं।

नेपाली फुटबल इतिहासमै पहिलो पटक म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सर्वोच्चबाट सफाइ पाएका छन् ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो । कसूरको प्रकृति म्याच फिक्सिङ् रहेको र म्याच फिक्सिङ्को कानुन पछि मात्रै आएको फौजदारी संहितामा हरेको अदालतको ठहर छ । यो कसूर अगाडीको नै भएकाले कानुनको अभावमा सफाई दिएको बिशेष अदालतको फैसला सदर भएको छ ।

फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ४ फुटबलरलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई ठहर गर्ने आधार नभेटिएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो। २०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेषमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको थियो।विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो ।

उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो। तर अदालतमा यी कुरा पुष्टि हुन नसकेपछि सफाइ दिएको हो।खेल मिलेमतोमा संलग्न भएको आरोपमा अखिल नेपाल फुटबल संघले पाँचै जनालाई पाँच वर्षअघि फुटबलबाट प्रतिबन्ध लगाएको थियो । यस्तै एसियाली फुटबल महासंघले पनि उनीहरुमाथि प्रतिबन्ध लगाएको छ । खेलाडीले भने आफूहरु निर्दोष रहेको बताउँदै आएका थिए ।

पाँचै पूर्व खेलाडीलाई फुटबलको सर्वोच्च निकाय फिफाले भने आजीवन प्रतिबन्ध लगाएको छ । सर्वोच्चबाट सफाई पाएपछि पूर्व कप्तान सागरले फेसबुकमा खेलेका छन्, सत्यको जित भयो सम्मानित सर्वोच्च अदालतबाट पनि । न्याय पाइएकोमा आज समय, मेहनत, परिश्रमको मुल्याङकन कसले गर्दिने, सरकारले, एन्फाले ?