भारतसंग वार्ताको लागि सहजीकरण गर्न तयारः डा भट्टराई

0
Shares

न्युज अफ नेपाल, गोरखा

 

भारतसंग वार्ताको लागि आफूले सहजीकरण गर्न तयार रहेको बताउँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो अंहकार त्याग गर्नुपर्ने धारणा राख्नुभएको छ ।

 

सोमबार बिहान गोरखामा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले सो धारणा राख्नुभएको हो । भट्टराईले भारतीय राजनीतिक नेतासँग यस विषयमा छलफल भइरहेकाले सहजीकरण गर्न आफू तत्पर रहेको बताउनुभयो ।

 

‘भारतका अहिलेका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सितारमन संयोगले जेएनयूकै सहपाठी हुनुहुन्छ । त्यसले गर्दा पनि एउटा भावनात्मक सम्बन्ध छ । त्यस हिसाबले पनि उहाँहरुले बेलाबेला सम्पर्क गर्नुहुन्छ । वार्ताका लागि वातावरण बनाउनुस् भन्नुहुन्छ’, उहाँले भन्नुभयो ‘त्यस हिसाबले आवश्यक पर्दा वार्ताका लागि वातावरण बनाउन सकिन्छ । ’

 

वार्ताको वातावरण बनाउन मुख्यतः प्रधानमन्त्री ओलीको जुन अहंकारी प्रवृत्ति छ, त्यो उहाँले परित्याग गर्नुपर्छ । वार्ताको नेतृत्व त सरकारले गर्नुपर्छ । सहजीकरण गर्न र सहयोगी भूमिका निर्वाह गर्न म तयार छु ।’ खोसिएको भूमि प्राप्त गर्न फौजी ढंगले अघि बढ्नु अहिले असान्दर्भिक हुने भन्दै उहाँले वार्ता र संवादकै माध्यमबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

 

‘कालापानी क्षेत्रको विषयमा जुन विवाद भइरहेको छ, त्यो भूमि त हाम्रै हो, कसैले खोसेर लान त सक्दैन’, उहाँले भन्नुभयो ‘त्यसमा भोग अधिकार स्थापित गर्नका लागि फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई हटाउनु एउटा बाटो हुन्छ । यो नेपालको सन्दर्भमा अहिले वुद्धिमानी र व्यवहारिक हुँदैन । अहिलेको विश्वमा यो उपयुक्त पनि हुँदैन । दोस्रो बाटो भनेको अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कुटनीतिक वार्ता मार्फत यो समाधान गर्ने हो ।’ त्यसका लागि प्रधानमन्त्री ओलीले आफ्नो क्षमता र कौशलता प्रदर्शन गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

वार्ताको पहल नगरी गरिएका वक्तव्यवाजीले प्रधानमन्त्रीले राष्ट्रियताको खोल मात्र ओढेको पुष्टि हुने बताउँदै उहाँले भन्नुभयो ‘यदि प्रधानमन्त्रीले यथाशीघ्र वार्ता र संवाद गरी समस्या समाधान गर्न नसके राष्ट्रियताको आवरण मात्र ओढ्नु भएको हो कि भन्ने जनताले गरेको आशंका सत्य पुष्टि हुनेछ’, उहाँले भन्नुभयो ‘मेरो व्यक्तिगत धारणा त अझ सीमा सम्बन्धी, पारावहनसम्बन्धी, अर्थ वाणिज्य सम्बन्धी विषय, विभिन्न सन्धी सम्झौता एकमुष्ट ढंगले हल गर्नका लागि प्रवुद्ध समूहबाटै सम्भव छ भन्ने हो । नेपाल र भारतका जनताको बीचमा कहिलै पनि दुश्मनी छैन । खालि सत्ता र सरकार बीचमा मात्र खटपट भएको हो । त्यसैले सकभर इपिजीमार्फत नै हल गर्नुपर्छ ।’

तर प्रधानमन्त्री ओली आफू पनि नजान्ने, अरुले भनेको पनि नमान्ने भएका कारण समस्या जड भएर रहेको उहाँले बताउनुभयो ‘दुखका साथ भन्नुपर्छ, हाम्रा प्रधानमन्त्री कसैको पनि सुझाव सुन्नुहुन्न । अल्पज्ञान र अहंकारको समिश्रण उहाँमा छ त्यसले आफू पनि सच्चिनुहुन्न, राष्ट्रिय, अन्तर्राष्ट्रिय वातावरण पनि बिगारिरहनु भएको छ’, भट्टराईले भन्नुभयो ‘यो विषय संवेदनशील छ है, समयमै समाधानको पहल गर्नुपर्छ है भनिरहँदा हाम्रा प्रधानमन्त्री संवेदनशील हुनुहुन्न । उहाँको अज्ञाता र अहंकारले गर्दा मुलुकमा यो स्थिति आएको हो ।’ वार्ता र संवाद नै यसको समाधान भएको उहाँले दोह¥याउनुभयो ।महाकाली सन्धिका बेला केपी शर्मा ओली चुकिसकेका हुँदा त्यसप्रति क्षमा याचनासहित समस्या समाधानका लागि पहल गर्नुपर्ने पनि उहाँको भनाई रहेको छ ।