कोराना राजनीतीकरण भयो


रियो डि जेनेरो, ( एजेन्सी)

ब्राजिलमा कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाम गर्ने कार्य निकै राजनीतिक विषय हुन पुगेको छ । अहिले ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको कारण मर्नेको संख्या ४१ हजार ८ सय २८ पुगेको छ । यो तथ्यांक विश्वकै दोस्रो ठूलो हो ।

अहिले ब्राजिल कोरोना भाइरस महामारीको केन्द्रविन्दु बनिरहेको छ । तर अहिले त्यहाँको नेतृत्व यस विषयमा त्यति गम्भीर नभएको बरु वर्तमान समस्या प्रस्तुत गर्दा खुसी रहेको देखिन्छ । शुरूदेखि नै राष्ट्रपति जायर बोलसोनारोले भाइरसलाई बेवास्ता गर्दै आएका छन् ।

शुरूदेखि नै उनले विभिन्न टेलिभिजनमार्फत कोरोना भाइरस संक्रमणलाई सामान्य रुघाखोकीको संज्ञा दिँदै सञ्चार माध्यमलाई हिस्टेरिया लागेको आरोप लगाउँदै आएका थिए । अप्रिलमा भएको मृतकको संख्याबारे सोधिँदा उनले झर्किंदै आफू चिहान खन्दै हिँड्ने मान्छे नभएको बताएका थिए ।

त्यसैगरी पत्रकारले ब्राजिलको मृतक संख्याले चीनको कुल संख्यालाई उछिन्न लाग्यो नि भनी सोध्दा पनि उनले ‘के भो त?’ भनी बेवास्तापूर्ण प्रतिक्रिया दिएका थिए । प्रदर्शनकारीले आ–आफ्ना घरको बार्दलीमा भाँडो ठटाएर सरकारको विरोध गर्ने डरको कारण राष्ट्रपतिले अहिलेसम्म टेलिभिजनमार्फत कोरोनाबारे सम्बोधन गर्ने आँट गरेका छैनन् ।