अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

0
Shares

  • यमलाल भुसाल,बुटवल

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु कोरोनाका कारण भन्दा पनि दीर्घरोगी भएकाले भएको बताईएको छ । बुटवलबाट उपचार गरी फर्किदै गर्दा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो ।

मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्किर्दै गर्दा बुधवार विहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपक्षिक माधव बुुढाथोकीले बताउनु भयो ।

भारतबाट यही जेठ १५ गते आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । घाँटीको सल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको थियो ।

सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो । बुटवल ल्याईएका उनको अवस्था सामान्य भएपछि उपचार विना नै घर फर्किँदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको यही २३ गते स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट भने आइनसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।