बागमती प्रदेशका ६ सय चेपाङलाई एकीकृत पोषण प्याकेज

0
Shares

  • न्युज अफ नेपाल,हेटौंडा

राज्यका तीनै अंग तथा विकासका साझेदारबाट पोषण सामग्री पाउनबाट वञ्चित चेपाङ समुदाय लकडाउनमा अतिकष्टकर जीवनयापन गर्दै आएपछि भोर, अनुसन्धानमा आधारित अभियानी संस्थाले बागमती प्रदेशका ६ सय चेपाङ परिवारलाई एकीकृत पोषण प्याकेज प्रदान गर्ने भएको छ ।

उनीहरुको बस्तीमा नै उक्त एकीकृत पोषण प्याकेज उपलब्ध गराउने कार्य भोर र मिथिला वाइल्डलाइफ ट्रस्टको सहकार्य तथा छोराछोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माईलाइफ संस्थाको आर्थिक सहयोगमा शुरु हुने भएको हो ।

चेपाङ परिवारलाई एकीकृत पोषण प्याकेज प्रदान गर्ने कार्यको भर्चुअल शुभारम्भ प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष श्यामकुमार बस्नेतले गर्नुभयो । आयोगको कार्यालयबाट जुममार्फत् भर्चुअल शुरुवात गर्दै उपाध्यक्ष बस्नेतले अभाव, भोक र निकै कमजोर आर्थिक अबस्थामा रहेका चेपाङ समुदायलाई लगभग तीन महिनाको लकडाउनको समयमा प्रदान गर्न लागिएको प्याकेज प्रशंसनीय कार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशका स्वास्थ्य निर्देशनालय निर्देशक रमेश अधिकारीले चरम गरिबी, अभाव, भोक र कुपोषणग्रस्त भएका समुदायका गर्भवती, सुत्केरी तथा स्तनपान गराउने आमा र पाँच वर्षमुनिका बालबालिकाका लागि प्रदान गर्न लागिएको पोषण प्याकेज सान्दर्भिक र समयसापेक्ष रहेको उल्लेख गर्नुभयो ।

लकडाउनमा कुनै तहबाट पोषिलो खाद्य सामग्री नपाएर दैनिक जीवनयापनको समस्यासँगै जुध्दै आएका समुदायलाई भोर र मिथिला वाइल्डलाइफ ट्रस्टले प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, ०.५ लिटर खानेतेल, ०.५ किलो सोयाबिन, ५ किलो हरियो तरकारी, स्थानीयस्तरमा उपलब्ध फलफुल, १ किलो गेडागुडी, १ किलो आयोडिनयुक्त नुन र १५ पिस अण्डा सहयोग गर्ने मिथिला वाइल्डलाइफ ट्रस्ट प्रमुख देवनारायण मण्डलले बताउनुभयो ।

चेपाङ समुदायमा दादुराको आउटब्रेक, भोक र कुपोषणको गम्भीर अबस्था भइसकेको परिवेशमा पनि तीनै तहको सरकार र पोषण तथा खाद्य सुरक्षा क्षेत्रमा काम गर्ने विकास साझेदारकोे उपस्थिति नदेखिएको जानकारी पाएपछि एकीकृत पोषण प्याकेज प्रदान गर्न लागिएको भोर अध्यक्ष पञ्चुलाल माझी मुसहरले बताउनुभयो ।