अस्पतालले जागिरबाट हटाएपछि आत्मदाह गरेका सिद्धार्थको मृत्यु


न्यूज अफ नेपाल, काठमाडौँ ।

जागिर गएपछि विकल्प नपाएर पुनः अस्पताल प्रशासनको मन पगाल्न सक्छु कि भनेर अस्पताल पुगी काम गरिरहेका सिद्धार्थलाई सान्त्वना त के छुद्र बचन लगाएपछि आवेगमा आएर अछाम जिल्लाको बयालपाटा अस्पताल परिसरमै आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारकै क्रममा सोमबार मृत्यु भयो ।

अस्पतालले जागिरबाट निकालेको १७ दिनपछि उनले सोही अस्पतालमा गै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए र उनकै सहकर्मीहरुले आगो निभाए पनि उनको अवस्था गम्भिर भैसकेको थियो । साँफेबगर नगरपालिका ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

उनको उपचारकै क्रममा मृत्यु भएको स्थानिय प्रहरीले जनाएका छन् । सिदार्थले दुई वर्षदेखि बयलपाटा अस्पतालमा सरसफाइ कर्मचारीको रूपमा काम गर्दै आएका थिए र सम्झौता अनुसार उनको अझै दुई महिना म्याद बाँकी हुँदै अस्पताल प्रशासनले हटाएको भन्दै स्थानिय नगरपालिका लगायतका निकायमा समेत गुहारेका थिए ।

साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले अस्पताल प्रशासनलाई यस्तो संकटको घडीमा कर्मचारी हटाउने काम नगर आर्थिक स्रोत जुटाउन नगरपालिकाले पहल गर्छाै भनी जेठ १४ गतेनै विज्ञप्ती समेत निकाल्नुभएको थियो ।

अस्पताल प्रशासनले नगरपालिकालाई समेत व्यवास्ता गरि आफुखुशी निर्णय गर्दा एक मजदूरको अकालमा ज्यान गयो । उनले अस्पताल परिसरमा पुगी निकैबेर यताउता भौतारिदै भनेका थिए घरमा श्रीमती र २ बच्चा छन् ।

मेरो जागिर गएदेखि घरको चुलो राम्रोसँग बल्न सकेको अवस्था छैन । अब म बाँच्नुको कुनै अर्थ रहेन भन्दै उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । कोरोना संक्रमणका कारण मुलुकमा लकडाउन भएको ७७ दिन भैसकेको थियो । ज्यालाबनी गर्न पनि सम्भव थिएन ।

अस्पतालले पनि एकाएक आर्थिक संकट भयो भन्दै फटाफट ३३ जना कर्मचारीलाई निकाल्दा आज सिद्धार्थको ज्यान गयो । उनको श्रीमती र बालबच्चाले अब कस्को सहारामा बाच्ने भन्दै अस्पतालका अत्य कर्मचारीहरुले हिजै देखि अस्पताल प्रशासनको ध्यानाकर्ष गराउँदै छन् ।
सरकारले लकडाउनका बेला करोडौको राहत बाँडेको फेरेस्ता बाहिर आईरहँदा एकजना मजदुर जागिर गएर घर चलाउन नसकी आत्मदाह गर्ने अवस्थामा पुगेको छ । तिनै कर्मचारीको रगत पसिनाले उठेका अस्पताल, कलकारखानाका मालिकहरु र सरकार धनको पक्षमा लागेर निर्णय गरिरहँदा लकडाउन पछि दर्जन बढी नेपालीले आत्मदाह, आत्महत्या गर्नुपर्ने अवस्थामा पुगिरहेका छन् ?