भोलिदेखि काठमाडौंको भित्री शहरका फुटपाथ पसल हटाइने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणको जोखिमलाई कम गर्न काठमाडौं महानगरको भित्री शहरमा पर्ने क्षेत्रमा भोलि मंगलबारदेखि फुटपाथमा पसल राख्न नदिने भएको छ ।

जथाभावी भिडभाडका कारण कोरोना फैलिन सक्ने भएकोले काठमाडौं महानगरपालिकाको भित्री शहरमा पर्ने परोपकार भिमसेनस्थानको पुलदेखि असन र जमल वरपरको क्षेत्रमा फुटपाथ पसलहरु हटाउन लागिएको काठमाडौं महानगर २४ वडाका सदस्य बिनोद तुलाधरले बताएका छन् ।

जसका लागि किलागल स्टार क्लबका अध्यक्ष चन्द्र कुमार महर्जनको संयोजकत्वमा स्वयम् सेवकहरुको एउटा जागरुक युवा समूह पनि गठन गरिएको छ ।

उक्त समूहले परोपकारको पुलदेखि मरु, प्याफल, नरदेवी, किलागल, जनबहाल, असन, टेंगल, त्यौड, भोटाहिटी, जमल आदि स्थानमा राख्दै आएका सम्पूर्ण फुटपाथ पसलहरु हटाउने सदस्य तुलाधरले बताए । उक्त कार्यमा सोही क्षेत्रका स्थानीय क्लब प्रतिनिधि तथा वडा सदस्यहरुको पनि सक्रियता हुनेछ ।