झापामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

0
Shares

  • उत्तम नेपाल,भद्रपुर

झापामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४८ पुगेको छ । त्यसमध्ये पाँचथरका दुई र ताप्लेजुङका तीन जना रहेका छन् ।सोमबार गौरीगञ्ज गाउँपालिकामा ७, हल्दिबारी गाउँपालिकामा २ र मेचीनगर नगरपालिका एक जना सङ्क्रमित भेटिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

हल्दिबारी र मेचीनगरमा पहिलो पटक सङ्क्रमित भेटिएको हो । गौरीगञ्ज ५ चिल्लाहारा घर भएका २२, ४१, २५, २०, ३१, १८, २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । उनीहरूमध्ये एक जना भारतको महाराष्ट्र र ६ जना हरियाणाबाट आई खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रको क्‍वारेन्टाइनमा बसेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो ।

त्यस्तै हल्दिबारीमा पुष्टि भएका दुई जना सङ्क्रमित भारतको आसाम र दिल्लीबाट आएका थिए । सङ्क्रमितममध्ये एक जना हल्दिबारी २ बस्ने ३१ वर्षीय र अर्को पाँचथर फिदिम ३ बस्ने २३ पुरुष रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनुभयो ।

हल्दिबारीका पुरुष दिल्लीबाट र पाँचथरका पुरुष आसामबाट आएका उहाँले बताउँनुभयो । काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका उनीहरूलाई हल्दिबारी स्वास्थ्य चौकीको नयाँ भवनमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको थियो ।

त्यसैगरी मेचीनगर नगरपालिका पहिलो पटक भेटिएको कोरोना सङ्क्रमित भारतको दिल्लीबाट आएका हुन् । मेचीनगर ४ बस्ने २९ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । एक साताअघि काँकडभिट्टा नाकाबाट स्वदेश घर फर्किएका उनलाई पशुपति माविको क्‍वारेन्टाइनमा राखिएको थियो ।